ग्लोबल आइएमईको अगुवाइमा सुपर तमोर आयोजनामा १९ अर्ब वित्तीय व्यवस्थापन

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा एक सय ६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट प्रालि र सहभागी बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी तथा क्रिस्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहअगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमईको अगुवाइका साथै सिद्धार्थ बैंक, लक्ष्मी सन्राइज बैंक, प्रभु बैंक सहअगुवाइ र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ । 

यसमध्ये ग्लोबल आइएमईले पाँच अर्ब, सिद्धार्थ र लक्ष्मी सन्राइजले चार–चार अर्ब, प्रभुले साढे तीन अर्ब, कृषि विकासले डेढ अर्ब तथा एसबिआई बैंकले एक अर्ब लगानी गर्ने बताइएको छ ।

ग्लोबल आइएमईका सिइओ रेग्मीले उक्त आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न हुने बताए । यसबाट राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास बैंकको रहेको छ । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने एक सय ६६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ ।

See More On

सुझावित समाचार