मनरा सिसवा नगरपालिकाले साक्षर अभियान सञ्चालनमा ल्याएको छ। यसै आर्थिक वर्षको अन्त्यसम्म पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यका साथ पालिकाले जेठ १५ गतेदेखि असार १५ गतेसम्म पूरा हुने गरी अभियान सञ्चालनमा ल्याएको हो।
१५ वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अभियानमा स्थानीय विद्यालयका शिक्षकको सहयोग लिइएको छ। विद्यालय समयपछि विद्यालय रहेको टोलमा गएर शिक्षकले उनीहरूलाई अभियानमार्फत साक्षर बनाइरहेको नगरप्रमुख मोहन पाण्डेयले जनाएका छन् ।
पालिकाको सबै १० वडामा कुल २३ टोल रहेको बताउँदै नगरप्रमुख पाण्डेयले पालिकामा २३ सामुदायिक विद्यालयसमेत भएको र सबै टोलमा भएकाले प्रत्येक विद्यालयलाई आफ्नो टोललाई साक्षर बनाउन जिम्मा दिइएको बताए। उनले विद्यालयबाहेक अतिरिक्त कार्यमा खटेकाले अभियानमा खट्ने शिक्षकलाई पालिकाको तर्फबाट केही सहयोगको व्यवस्थापनसमेत गरिएको बताए ।
‘शिक्षा सबैको अधिकार, साक्षरता हाम्रो आधार’ तथा ‘साक्षर नागरिक, समृद्ध नगरपालिका’ भन्ने मूल नाराका साथ चलाइएको साक्षर अभियान समयभित्र सम्पन्न हुने र असारकै अन्त्यसम्म पालिकालाई साक्षर घोषणा गरिसक्नेमा आफू आशावादी रहेको नगरप्रमुख पाण्डेयले थपे ।
उनले साक्षर हुन विभिन्न १२ पारामिटर पूरा गर्नुपर्नेमा कम्तीमा ६ पारामिटर पूरा गर्ने र ९५ प्रतिशत साक्षर भए पालिका साक्षर घोषणा गर्न सकिने बताए। नगरप्रमुख पाण्डेयले शिक्षकहरूले पूरै १२ पारामिटर पूरा हुने तरिकाले सिकाइरहेको बताए ।
उनले सेभ द चिल्ड्रेन तथा रतौली युवा क्लबलाई समेत अभियानकाे अनुगमनका लागि आग्रह गरेकोमा नगरपालिकासँगै उक्त संस्थाहरूले समेत अनुगमन गरिरहेको बताए ।
मनरा सिसवा नगरपालिकामा पछिल्लो दुई आर्थिक वर्षसमेत स्थानीय शिक्षित युवासहित विभिन्न भोलेन्टियर राखेर साक्षर अभियान चलाइएकोमा साक्षर बनाउने टेक्निक अभावले उनीहरूले अपेक्षाकृत नतिजा नदिन सकेपछि यसपटक भने विद्यालयलाई जिम्मा दिइएको र विद्यालयबाट प्राथमिक तहका र बालविकास शिक्षकले जिम्मेवारी पूरा गरिरहेको उनले थपे ।
नगरपालिकाको नयाँ तथ्यांकअनुसार पालिकामा १५ देखि ६० वर्ष उमेर समूहका महिला २१ हजार ६२६ र पुरुष २० हजार ९४५ गरी कुल ४२ हजार ५७१ रहेकोमा सोमध्ये चार हजार ३० महिला र दुई हजार ४३९ पुरुष अझै निरक्षर छन्। पालिकामा कुल आठ हजार २३५ घरधुरीमा कुल ५४ हजार नागरिक छन् । महोत्तरीका १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका हालसम्म साक्षर पालिका घोषणा भइसकेका छन् भने अन्य पालिकाहरू साक्षर घोषणाको चरणमा छन् ।