मध्यरातमा घरभित्रै छिरेर दम्पतीमाथि गोली प्रहार गरी लुटपाट

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

महोत्तरीको सोनमा गाउँपालिका– ३, खखनामा श्रीमान्–श्रीमतिमाथि गोली प्रहार गरी हत्या प्रयास भएको छ। अनुहार छोपेर आएको सात–आठजनाको अज्ञात समूहले मध्यरातमा घरमै प्रवेश गरेर उनीहरूमाथि कुटपिट र गोली प्रहार गरेका हुन्।

पिपरा गाउँपालिका– २, अतरार घर भई ससुराली गाउँ खखनानिवासी रामविश्वास यादवको घरमा बस्दै आएका २८ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरणकुमारी यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो। रामईश्वर सम्सी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी पञ्चलाल गोलेले घरमा सामानहरूसमेत छरपस्ट अवस्थामा रहेकाले डाँका उद्देश्य देखिए पनि अनुसन्धानले थप कुरा खुल्ने बताए। घाइतेको तिलहरी, हनुमानीलगायतका सामानहरू लुटिएको र घरकाे दराजलगायतका बाकससमेत फुटाइएको छ।

घाइते दम्पतीलाई राति नै रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको छ। घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

घाइते रामईश्वर यादवका ससुरा सपरिवार जनकपुरस्थित घरमा बस्दै आएका छन्। पीडितले अज्ञात समूह घरमा प्रवेश गरी केही नभनी खुट्टा बाँधेर कुटपिट गरेको र पछि गोली हानेको बताए। श्रीमतीले छुट्याउन खोज्दा उनलाई पनि कुटपिट गर्न थालेको र भाग्न खोज्दा तिघ्रामा गोली लागेको छ।

सुझावित समाचार