- कुनै समयको बलियो पार्टी टिएमसी पछिल्लो विधानसभा चुनावपछि अस्तित्व बचाउन संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ
मे २०२६ मा सम्पन्न पश्चिम बंगाल विधानसभा चुनावको नतिजा ‘मोदी–दिदीबिच सेटिङ’ रहेको सिद्धान्तमा विश्वास गर्नेका लागि ठुलो झट्काका रूपमा आएको हुन सक्छ । यस सिद्धान्तमा विश्वास गर्नेहरूले भाजपा पश्चिम बंगालमा केवल देखाउनका लागि लडेको तर्क गरिरहेका थिए । तिनका अनुसार भाजपा ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस सरकारलाई हटाउन कहिल्यै गम्भीर थिएन । यो कुरा चिया पसलमा मात्र चर्चा थिएन, केही चर्चित बंगाली विश्लेषकले समेत यस्तो राय राख्थे ।
तर, भाजपाले टिएमसीलाई २०७ बनाम ८० को ठुलो अन्तरले पराजित गरेर यस ‘षड्यन्त्र सिद्धान्त’लाई गलत साबित गरिदियो । तथापि, ठुलो अन्तरले हराए पनि भाजपा सम्भवतः टिएमसी पूर्ण रूपमा विघटनतर्फ जाओस् भन्ने चाहँदैन । भित्री रिपोर्टअनुसार टिएमसीका कैयौँ निर्वाचित विधायक अहिले भाजपामा सामेल हुन उत्सुक रहेको बताइन्छ । यदि टिएमसी पूर्ण रूपमा विघटित भयो भने यसले पश्चिम बंगालमा पुनः वामपन्थी दलहरूको पुनरागमन निम्त्याउन सक्छ । यसको अर्थ त्यस राज्यमा भाजपा र संघ परिवारले दशकौँदेखि लडिरहेको विचारधारासँग उसको प्रत्यक्ष मुडभेड हुनेछ ।
कुनै समय बलियो पार्टी मानिने टिएमसीले यसपटक भाजपासँग विधानसभा चुनावमा हारको सामना गरेपछि अहिले अस्तित्वगत संकटको सामना गरिरहेको छ । भाजपा सांसद सौमित्र खानले प्रेसलाई बताएअनुसार लगभग ५० असन्तुष्ट टिएमसी विधायक र २० सांसद (केन्द्रका) पार्टी छोड्न चाहन्छन् । भाजपाको केन्द्रीय नेतृत्वले स्वीकृति दिएमा उनीहरू भाजपामै सामेल हुनसमेत तयार रहेको बताइएको छ । तर, यति ठुलो संख्यामा टिएमसी नेता भाजपामा समाहित भए भने टिएमसीको राजनीतिक भविष्यमाथि नै प्रश्न उठ्नेछ । यही कुरालाई पुष्टि गर्ने गरी इन्डिया टुडेको पछिल्लो एक रिपोर्टले पश्चिम बंगालका विभिन्न नगरपालिकाका लगभग १०० टिएमसी काउन्सिलरले राजीनामा दिएको बताएको थियो ।
‘टिएमसी कहिल्यै साँचो अर्थमा राजनीतिक दल बन्नै सकेन । किनकि, यसको आफ्नै राजनीतिक विचारधारा नै थिएन । ममता बनर्जीले कंग्रेसको विरोध गर्दै सोही पार्टीबाट अलग भएर टिएमसी गठन गरिन् । त्यसपछि उनले आफ्नो नयाँ पार्टीलाई बंगालका वामपन्थी सरकारको कटु आलोचक बनाइन् । र, जब पार्टी सत्तामा आयो, यो बिस्तारै भाजपाविरोधी देखिन थाल्यो,’ राजनीतिक टिप्पणीकार तथा कलकत्ता उच्च अदालतका वरिष्ठ वकिल जयदीप सेनले भने । यसरी आफ्नै कुनै अडान नभएको र अरूको विरोधमा अडेको पार्टी कुनै न कुनै समय विघटन हुने खतरा हुनेमा सेनले जोड दिए ।
वामपन्थी पुनरागमनलाई सहजीकरण ः सतही रूपमा सरसर्ती हेर्दा वामपन्थी दल तृणमूल कंग्रेसको विकल्प हुने सम्भावना कमजोरजस्तो लाग्न सक्छ । किनकि, यसपटक तृणमूल कंग्रेसले ८० सिट जित्दा वाममोर्चाले विधानसभामा केवल दुई सिट जितेको छ । दुईमध्ये एउटा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) वा सिपिएम र अर्को सिट अखिल भारतीय धर्मनिरपेक्ष मोर्चाले जितेको हो । त्यसअघि सन् २०१९ को लोकसभा चुनाव, सन् २०२१ को विधानसभा चुनाव र फेरि सन् २०२४ को लोकसभा चुनावमा वाम मोर्चाले एउटा पनि सिट जित्न सकेको थिएन ।
तर, मे २४ मा भएको ‘फाल्टा’ निर्वाचन क्षेत्रको उपचुनाव परिणामले भने वामपन्थीको उदयको संकेत गर्छ । भाजपा उम्मेदवार देवांशु पाण्डाले एक लाखभन्दा बढी मतको अन्तरले सो क्षेत्रमा जित त हासिल गरिन्, तथापि दोस्रो धेरै मत सिपिएम समर्थित उम्मेदवार शम्भुनाथ कुर्मीले पाए । जबकि, तृणमूल कंग्रेस चौथो स्थानमा आयो । यही एक निर्वाचन परिणामले पनि अब पश्चिम बंगालको विरोधी मतदाता वामपन्थीतिर सरेको संकेत गर्छ ।
‘पश्चिम बंगालमा ३० प्रतिशत मुस्लिम जनसंख्या छ । यो भनेको बिजेपीविरोधी मत हो । त्यसबाहेक अरू समुदायमा पनि थोरबहुत भाजपाविरोधी हिस्सा स्वाभाविक हुन्छन् । यी सबै जोड्दा राज्यमा संरचनात्मक रूपमा भाजपाविरुद्ध ठुलो विपक्षी स्पेस छ, जुन कम्तीमा पनि ४० प्रतिशतको वरिपरि घुमिरहेको हुन सक्छ,’ युनिभर्सिटी अफ ससेक्स, युकेका फेलो अयान गुहाले भने । गुहाको ठम्याइमा टिएमसी कमजोर भएर अब उठ्न नसक्ने ठम्याइपछि आमआक्रोश व्यक्त गर्ने माध्यमका रूपमा सिपिएम वा सिपिएम–कंग्रेसबिचको गठबन्धन विकल्प बन्न सक्छ ।
यो भाजपा सरकारका लागि आदर्श अवस्था हुनेछैन । भाजपा–आरएसएसले कहिल्यै वामपन्थी दल राज्यशक्तिमा फर्किएको हेर्न चाहँदैनन् । यस स्तम्भकारले आफ्नो पुस्तक ‘बंगाल २०२१ ः एन इलेक्सन डायरी’ लेखनका क्रममा लिएको एक अन्तर्वार्तामा बंगालका एक वरिष्ठ आरएसएस कार्यकर्ताले भनेका थिए कि ममता बनर्जी तत्कालको राजनीतिक प्रतिद्वन्द्वी भए पनि वास्तविक ‘शत्रु’ सधैँ वामपन्थी नै हुन् । ‘किनकि, टिएमसीले शासन गर्दा जति नै समस्या भए पनि तिनले राज्य संरचनामा नोक्सान पुर्याउँदैनन् । तर, वापमन्थीहरूले भने पूरै देशलाई नोक्सान पुर्याउने क्षमता राख्छन्,’ ती आरएसएस कार्यकर्ताले भनेका थिए । तर, अहिलेको अवस्था हेर्दा भाजपाले नचाहँदा–नचाहँदै आफैँले टिएमसीको समूल नष्ट गरिदिएर वापमन्थी शक्तिको पुनरोदय सहज बनाइदिएजस्तो देखिन्छ ।
(हल्दर द प्रिन्टका लेखक र योगदानकर्ता सम्पादक हुन्)
द प्रिन्टबाट