धादिङको गल्छी गाउँपालिका– १ मा रहेको कालीदेवी आधारभूत विद्यालय र काभ्रेको नमोबुद्ध नगरपालिका– ५, कानपुरमा रहेको महांकाल आधारभूत विद्यालयको नियति एउटै हो । गल्छीमा रहेको कालीदेवी आधारभूत विद्यालयमा गत वर्ष आठजना भर्ना भएको प्रधानाध्यापक सीता शाही ठकुरी बताउँछिन् ।
‘विद्यालय समायोजनको हल्लाले यस वर्ष भर्ना भएका तीनजना पनि विद्यालय आएका छैनन् । बालविकास शिक्षिका सीता भुजेल, कार्यालय सहयोगी र म सधैँ विद्यालय आउँछौँ । तर, विद्यार्थी कहिल्यै आउँदैनन् अन्यत्रै पढ्न जान्छन्,’ उनले भनिन्, ‘समायोजनको कुरा भइरहेको छ । अब कालीदेवी आधारभूत विद्यालय छिट्टै समायोजन हुन्छ होला ।’
गल्छी गाउँपालिकाको कालीदेवी आधारभूत विद्यालयमा मात्र होइन, धादिङका धेरै विद्यालयको अवस्था झन्डै उस्तै छन् । सिद्धलेक गाउँपालिका– ३ मा अवस्थित खड्कदेवी आधारभूत विद्यालयमा बालविकासमा दुईजना, कक्षा १ मा दुईजना र कक्षा ३ मा एकजना गरी पाँच विद्यार्थी छन् । एउटै शिक्षकले बहुकक्षा शिक्षण गर्नुपर्ने, अर्को विद्यालय जान पनि करिब तीन घण्टा लाग्नेजस्ता जटिल समस्या तथा चुनौतीको सामना गर्नुपरेको स्थानीय बताउँछन् ।
सिद्धलेक गाउँपालिका– ५ मा अवस्थित बाघभैरुङ आधारभूत विद्यालयमा पनि बालविकासमा चार र कक्षा दुईमा एकजना गरी पाँच विद्यार्थी छन् । धादिङमा ५१२ वटा सामुदायिक विद्यालय छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै गइरहेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत चण्डिका मल्ल ठकुरीले बताइन् । ‘विद्यार्थीको चाप घट्न थालेपछि गत आर्थिक वर्षमा मात्रै ५० भन्दा धेरै सामुदायिक विद्यालय समायोजन गरिएको छ । तर, केही विद्यालय समायोजनपछि विद्यालय जान निकै टाढा हुने हुँदा विद्यार्थी संख्या कम भएर पनि समायोजन गर्न सकिएको छैन,’ उनले भनिन् ।