- दशकौँसम्म मुस्लिमको ठुलो हिस्सा बहुमत लेबर पार्टीको समावेशी, श्रमिक वर्ग समर्थक अडानका लागि बफादार रहे । तर, पश्चिममा अति दक्षिणपन्थीको उदयले लेबर पार्टीसहित सम्पूर्ण राजनीतिक परिदृश्य दक्षिणपन्थीतिर ढल्किएको छ ।
बेलायतमा हालै भएको स्थानीय परिषद्को चुनाव साँच्चै महत्वपूर्ण थियो, किनकि निर्वाचनले बेलायतमा दुईदलीय प्रणालीको युगको अन्त्य हुँदै छ भनेर स्थापित गर्यो । आप्रवासीविरोधी र केहीले इस्लामविरोधी तर्क गर्ने लोकप्रियतावादी निगेल फराजको नेतृत्वमा रहेको दक्षिणपन्थी सुधार पार्टी विजेताको रूपमा देखा परेको छ । नतिजाले बेलायती प्रधानमन्त्री सर केयर स्टारमरका लागि अस्तित्वगत खतरा सिर्जना गरेको छ, उनले प्रधानमन्त्री पद गुमाउन सक्छन् । अन्य कारकका साथै स्टारमरको नेतृत्वमा रहेको लेबर पार्टीसँग ब्रिटिस मुस्लिमको मोहभंगले हालैको चुनावी असफलतामा उल्लेखनीय योगदान पुर्याएको छ ।
नतिजाले बेलायती राजनीतिक परिदृश्यभित्रको विभाजिततालाई पनि प्रकाश पारेको छ, जुन द्रुत गतिमा साम्प्रदायिक हुँदै गइरहेको छ । बफादारीको पुनर्विचार, प्राथमिकताको पुनर्मूल्यांकन र पहिचानको आधारमा गठबन्धनलाई पुनः आकार दिइँदै छ । यस राजनीतिक पुनर्संरचनामा बेलायती मुस्लिमले कुनै पनि राजनीतिक दलसँग असंलग्नताको आधारमा स्वतन्त्र राजनीतिमार्फत नयाँ राजनीतिक आवाज पनि खोजिरहेका छन् । दशकौँसम्म मुस्लिमको ठुलो हिस्सा बहुमत लेबर पार्टीको समावेशी, श्रमिक वर्ग समर्थक अडानका लागि बफादार रहे । तर, पश्चिममा अति दक्षिणपन्थीको उदयले लेबर पार्टीसहित सम्पूर्ण राजनीतिक परिदृश्य दक्षिणपन्थीतिर ढल्किएको छ । केही समयदेखि लेबर पार्टीभित्रका मुस्लिमले समुदायको राजनीतिक सरोकारप्रति लेबर नेतृत्वको उदासीनतालाई असन्तुष्टि व्यक्त गर्दै आएका थिए । यद्यपि, गाजा मुद्दाले मुस्लिम मतदातालाई लेबर पार्टीबाट टाढा लैजानमा प्रमुख भूमिका खेलेको थियो ।
सामाजिक न्याय र समानता, प्यालेस्टाइनमा शान्ति र मुस्लिम समुदायभित्र एकताको माग गर्दै डिसेम्बर २०२३ मा, बर्मिंघममा ‘मुस्लिम भोट’ परियोजना सुरु गरिएको थियो । पार्टीको रूपमा नभई स्वतन्त्र मुस्लिम उम्मेदवारलाई समर्थन गर्ने आन्दोलनको रूपमा परियोजना सुरु गरिएको थियो । सात महिनापछि जुलाई २०२४ मा चार स्वतन्त्र मुस्लिम सांसद निर्वाचित भए, जसलाई कसैले ‘गाजा टिकट’ भनेका थिए । त्यस्तै, हालैका स्थानीय परिषद् चुनावमा बर्मिंघम, लन्डन, ब्ल्याकबर्न, ड्युसबरी र ब्याटलीका मुस्लिमबहुल क्षेत्रबाट दर्जनौँ उम्मेदवारले साना स्थानीय गठबन्धनअन्तर्गत स्वतन्त्र रूपमा भाग लिए र निर्वाचित भए ।
यद्यपि, मुस्लिम मतको यो पुनर्संरचना बेलायती राजनीतिको खण्डीकरणको एउटा पक्ष मात्र हो, यसलाई दक्षिणपन्थी टिप्पणीकार, मिडिया र राजनीतिज्ञले ‘साम्प्रदायिक राजनीति’ र ‘इस्लाम लोकतान्त्रिक आन्दोलन’को रूपमा प्रस्तुत गरेका छन् र बेलायतमा लोकतन्त्रका लागि एक प्रमुख खतराको रूपमा प्रस्तुत गरेका छन् । यसलाई ब्रिटिस समाजको राजनीतिक र सांस्कृतिक अधिग्रहणको उद्देश्यले विदेशी द्वन्द्व वरिपरि प्रतिक्रियाशील एकताको रूपमा पनि चित्रण गरिएको छ । मुस्लिमको डर जगाउन बनाइएका यस्ता कथा संयुक्त राज्य अमेरिका, युरोप र भारतमा अति–दक्षिणपन्थी आन्दोलनभित्र धेरै प्रभावकारी भएका छन् ।
वास्तविकतामा बेलायती मुस्लिममाझ राजनीतिक निराशा जटिल र बहुआयामिक छ । यो आंशिक रूपमा गाजा प्रश्नबाट प्रेरित छ, तर आवास, मितव्ययिता, अतिवादविरोधी नीति र प्रतिनिधित्वको अभावजस्ता मुद्दामा दशकौँदेखि सीमान्तीकरणमा पनि जरा गाडिएको छ । तैपनि, मुस्लिम जनसंख्या राजनीतिक रूपमा विविध छ र यसलाई एकाधिकार समूहको रूपमा व्यवहार गर्न सकिँदैन । धेरै मुस्लिमले वामपन्थी लोकप्रियतावादी ग्रिन पार्टीलाई समर्थन गरेका छन् । कोही जेरेमी कोर्बिनको योर पार्टीलाई समर्थन गर्छन् भने कोही बढी मध्यमार्गी राजनीतिमा प्रतिबद्ध छन् ।
यसबाहेक मुद्दाकेन्द्रित र पहिचानमा आधारित राजनीति केवल मुस्लिम–विशिष्ट मात्र होइन । सन् २०२४ मा विभिन्न पृष्ठभूमिका ४५९ उम्मेदवारले आमचुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका थिए, जसले विभिन्न राजनीतिक कारणको प्रतिनिधित्व गर्थे । त्यसैले, ब्रिटिस मुस्लिमलाई अलग गर्नु र उनीहरूलाई साम्प्रदायिक राजनीतिको आरोप लगाउनु स्पष्ट रूपमा कपटी हो । आइरिस क्याथोलिक, यहुदी, सिख र हिन्दुसहित अन्य डायस्पोरा समूहमा समन्वित र अर्ध–समन्वित मतदान ढाँचाको इतिहास पनि छ । एउटा उदाहरण २०१९ को चुनावको क्रममा पूर्वी मिडल्यान्ड्स सहर लेस्टरमा ‘अप्रेसन धार्मिक भोट’ हो, जहाँ कस्मिर मुद्दामा हिन्दु मतहरू खोजिएको थियो । त्यस्तै, २०२४ को चुनावअघि, बेलायती हिन्दु समुदायको चिन्ता र मागको प्रतिक्रियामा ‘बेलायतका लागि हिन्दु घोषणापत्र’ सुरु गरिएको थियो ।
यो आदर्श राजनीतिक दृष्टिकोण नहुन सक्छ, तर वर्तमान राजनीतिक सन्दर्भमा धेरै मुस्लिमले असंलग्न, स्वतन्त्र राजनीति पछ्याउने रणनीतिक फाइदा देख्न सक्छन् । केही निर्वाचन क्षेत्रमा, यसले बहुमत निर्धारण गर्न सक्छ वा चुनावी परिणामलाई प्रभाव पार्न सक्छ, तर यसको दीर्घकालीन प्रभावकारिता र सम्भाव्यता अनिश्चित रहन्छ । यसको विपरीत, ‘साम्प्रदायिक राजनीति’ र ‘इस्लामलोकप्रियता’का रूपमा दृष्टिकोणको छनोटले अति–दक्षिणपन्थी समूहको केही अल्पकालीन राजनीतिक लक्ष्यलाई मद्दत गर्न सक्छ, तर यसले देशमा राजनीतिक ध्रुवीकरण र विभाजनलाई गहिरो बनाउनेछ ।
लेखक बिबिसीकी पूर्वपत्रकार र लिड्स विश्वविद्यालयमा मिडिया एन्ड कम्युनिकेसन स्कुलमा पिएचडी गर्दै छिन् ।
– पाकिस्तानी समाचार संस्था डनबाट