पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपूर्ण पदमार्गमा हुने छैटाैँ संस्करणको अन्नपूर्ण म्याराथन २०८३ मा आठ विदेशीसहित ५० जना धावकहरूले प्रतिस्पर्धा गर्ने भएका छन्। ‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा २० जेठमा हुने म्याराथनमा १० महिला र ४० पुरुष गरी ५० जनाले नाम दर्ता गरेको रेस डाइरेक्टर रिकी योञ्जनले जानकारी दिए।
सहभागीमध्ये आठजना विदेशी रहेका छन्। महिला र पुरुषका बिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने ४२.१९५ किलोमिटरको म्याराथनमा नाम दर्ताका लागि शनिबार अन्तिम दिन रहेको उनले बताए। यसपटक अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटालगायत अन्य केही विदेशका चर्चित धावकहरूले सहभागिताको लागि नाम दर्ता गरे पनि विभिन्न कारणले गर्दा अन्तिम समयमा उनीहरू नआउने भएका योञ्जनले बताए।
अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको अवसर पारी आयोजना गरिने म्याराथन अन्नपूर्ण क्षेत्रको समग्र पर्यटन प्रबद्धन गरी अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गको पूर्वाधार विकाससँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा विगत ६ वर्षदेखि म्याराथन आयोजना गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए।
चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन त्यसपछि माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह माविको खेल मैदानमा आएर सम्पन्न हुनेछ। एभरेस्ट म्याराथनपछिको साहसिक रुटको रूपमा रहेको म्याराथनमा सुरक्षालाई पहिलो प्राथकिमता दिँदै सहभागी सम्पूर्ण धावकहरूको बिमासँगै प्रतियोगिताको दिन केही परी आए उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिने अध्यक्ष गुरुङले बताए।
महिला पुरुष दुवैतर्फ प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजारसँगै पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्। म्याराथनमा सहभागिताका लागि सात हजार दर्ता शुल्क तोकिएको छ। म्याराथनको सम्पूर्ण प्राविधिक काम हिमालयन एक्ट्राइले गर्नेछ। यसअघि म्याराथनको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमाल, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाट, तेस्रोमा जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारी, चौथोमा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ र महिलातर्फ खोटाङकी निर्मला राई, पाँचौँमा नेपालकी अन्तर्राष्ट्रिय धावीका सुनमाया बुढा र पुरुषतर्फ नेपाली सेनाका तिलकबहादुर सुनुवारले उपाधि हात पारेका छन्।