दोलखाका स्थापित पत्रकार जीवन लामाले कैद गरेको फोटो काठमाडौंमा प्रदर्शनीमा राखिएको छ। नयाँबानेश्वरस्थित उमोजा क्याफेमा १४ जेठदेखि फोटो प्रदर्शनीमा राखिएका छन्।
दोलखाको प्रसिद्ध पर्यटकीयस्थल चेर्दुङका रमणीय क्षेत्रलाई समेटेर खिचिएका तस्बिर प्रदर्शनीमा राखिएका छन्। फोटोमा चेर्दुङका रमणीय दृश्य मात्र नभई नागरिकको जीवन र उनीहरूका भोगाई पनि समेटिएको हुँदा प्रदर्शनीमा राखिएका फोटा आकर्षक लाग्छन्। चेर्दुङका रमणीय दृश्यलाई राजधानीसँग जोड्नु प्रदर्शनीको उद्देश्य रहेको पत्रकार लामाले बताए।
उनले भने, ‘यसपटक चेर्दुङको मात्रै फोटोलाई प्रदर्शनीमा राखिएको छ। त्यहाँका रमणीय दृश्यलाई राजधानीसँग जोड्नु यसको उद्देश्य हो। प्रदर्शनमा धेरै दर्शक सहभागी भएका छन्। सबैले फोटो मन पाएका छन्। पर्यटन प्रवर्द्धनको यो एउटा अभियान हो। यसलाई भावी दिनमा पनि निरन्तरता दिने उद्देश्य हो।’
दोलखाको गौरीशंकर गापा–४, झ्याँकुका लामा दुई दशकदेखि पत्रकारितामा आबद्ध छन्। उनको नेतृत्वमा दोलखामा कालिन्चोक एफएम १५ वर्षदेखि सञ्चालनमा छ। उनी साहित्यमा पनि उत्तिकै दखल राख्छन्। उनले यसअघि निर्देश मान्छे, चौसठी वर्ग मिटर कवितासंग्रह प्रकाशन गरेका छन्। त्यसबाहेक सुरेलका रङहरू र गौरीशंकर विविधतामा एकता नामको फोटो पुस्तक पनि प्रकाशनमा ल्याएका छन्।