संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार लामो समयदेखिको सहयोगी देश ओमानलाई नै आक्रमण गर्ने चेतावनी दिए । ट्रम्पले स्ट्रेट अफ हर्मुजको विवादमा इरानसँग सहकार्य गरे आफ्नै सहयोगी ओमनमाथि पनि सैन्य बल प्रयोग गर्ने धम्की दिएका हुन् ।
ओमनले इरानसँग विश्वको विश्वव्यापी तेल ढुवानीको २० प्रतिशतभन्दा बढी हिस्सा आउजाउ गर्ने रणनीतिक जलमार्ग हर्मुजमा सहकार्य गर्ने सार्वजनिक भएपछि ट्रम्पको यस्तो चेतावनी आएको हो । वासिंटनमा बुधबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग बोल्दै ट्रम्पले भने, ‘कसैले यो समुद्री मार्गलाई नियन्त्रण गर्नेछैन । यो अन्तर्राष्ट्रिय जलमार्ग हो, ओमानले अरू सबैजस्तै व्यवहार गर्नुपर्नेछ । नत्र, हामीले तिनलाई पनि आक्रमण गर्नुपर्ने हुन्छ ।’
हर्मुज एक अन्तर्राष्ट्रिय समुद्री मार्ग भए पनि यसको धेरैजसो भाग इरान र ओमानमा पर्छ । ती देशमा नपर्ने थोरै हिस्सा मात्र संयुक्त अरब इमिरेट्स (युएई) लाई छुन्छ । बुधबार ट्रम्पको चेतावनी आउनुअगाडि इरानको सरकारी टेलिभिजनले इरान र संयुक्त राज्य अमेरिका एक समझदारी पत्रमा सहमत हुन लागेको र त्यसमा तेहरान र मस्कटले संयुक्त रूपमा हर्मुजलाई नियन्त्रण गर्ने बताइएको भनेको थियो ।