पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त हुँदै, परराष्ट्र मन्त्रालयले खुलायो आवेदन
सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन मागेको छ। परराष्ट्र मन्त्रालयले न्यूनतम योग्यता तथा मापदण्ड तोकेर बिहीबार आवेदन खुलाएको हो।
राजदूत नियुक्तिका लागि न्यूनतम ३५ वर्ष उमेर र स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड राखिएको छ। पूर्वप्रशासनको हकमा अवकाश भएको न्यूनतम १० वर्ष पुगेको हुनुपर्ने उल्लेख छ।
यसरी आवेदकमध्येलाई सर्टलिस्ट गरेर नियुक्त गरिने मन्त्रालयले जनाएको छ।
घरबाटै सम्पत्ति विवरण सेवा सुरु, सार्वजनिक बिदामा पनि राष्ट्रिय किताबखानाको सुविधा
राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारीलाई लक्षित गर्दै घरबाटै सेवा उपलब्ध गराउने नयाँ व्यवस्था सुरु गरेको छ।
सम्पत्ति छानबिन आयोग– २०८३ को सूचनाअनुसार एक महिनाभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा निवृत्त कर्मचारीलाई सहज सेवा दिन यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।
पृथ्वीचोकका अनधिकृत भवनमा पोखरा महानगरको डोजर
नगर क्षेत्रभित्रका सार्वजनिक/ऐलानी/पर्ति जग्गा खाली गराउने क्रममा रहेको पोखरा महानगरपालिकाले पोखरा– ९, पृथ्वीचोकस्थित विभिन्न संघसंस्थाले जग्गा कब्जा गरी निर्माण गरेको भवनमा बिहीबार डोजर चलाएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कंग्रेस, नेकपा एमालेनिकट मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (जिफन्ट) गण्डकीसँगै सामुदायिक प्रहरी सेवा केन्द्र, हिमाली सांस्कृतिक परिवार, साहारा क्लबलगायतका संघसंस्थाले निर्माण गरेको भवनमा महानगरले डोजर चलाएको हो। भवनसँगै साहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालयमा समेत डोजर चलेको छ।
काठमाडौंमा असिनापानी, सिन्धुपाल्चोकको गोब्रेमा एक घन्टामै ५८.८ मिलिमिटर पानी
काठमाडौंमा बिहीबार राति असिनासहित वर्षा भइरहेको छ। दिनभर घाम लागेकामा यसअघि साँझ पानी परेको थियो। तर, राति सवा आठ बजेदेखि निरन्तर पानी परिरहेको छ, त्यो पनि बर्खाको भीषण वर्षाजसरी।
विशेष गरी काठमाडौंको उत्तरी क्षेत्रमा ठुलो पानी परिरहेको छ । सिन्धुपाल्चोकको गोब्रेमा एक घन्टामै ५८.८ मिलिमिटर पानी परेको छ। ककनीमा ५.६, कीर्तिपुरमा ३ र कपनमा २.४ मिलिमिटर पानी परेको ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रिमसुन सक्रिय बन्दा असिनापानी परिरहेको र एक–डेढ घन्टामा थामिने बताए। प्रिमनसुनमा हावाहुरी, मेघगर्जन, चट्याङसहित पानी पर्छ, अहिले भइरहेको त्यही हो,’ उनले भने, ‘यसमा स्थानीय वायुले काम गरेको छ ।'
काठमाडौंजस्तै, कैलालीको चुरे क्षेत्र, रुकुम, पोखरालगायत क्षेत्रमा पनि ठुलो पानी परेको छ। पश्चिम क्षेत्रमा विकास भएको यो प्रणाली विस्तारै पूर्व सर्दै जाने आकलन छ। यद्यपि, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको आकलन छ।
नेपालका एमएमए फाइटर रवीन्द्र ‘रोड टू युएफसी’को सेमिफाइनलमा
नेपालका चर्चित मिक्स मार्सल आर्टस् (एमएमए) फाइटर रवीन्द्र ढाँट विश्व चर्चित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी)को छनोट प्रतियोगिता ‘रोड टू युएफसी सिजन–५’को सेमिफाइनल प्रवेश गरेका छन्।
बिहीबार दिउँसो मकाउमा भएको ब्यान्टमवेट विधाको क्वार्टरफाइनलमा रवीन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन्। रवीन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै नकआउट जित पक्का गरे।
स्वास्थ्य मन्त्रालयमा थपियाे ९७७ दरबन्दी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थपिएकाे छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय पुलअन्तर्गत दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल एक हजार ८०८ दरबन्दी कायम भएको छ। जसमध्ये विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।
१० सुरक्षाकर्मीमाथि कारबाही गर्न मानव अधिकार आयोगकाे सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौको जेन–जी विद्रोहका वेला भएको दमनमा १० उच्च सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस गरेको छ । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसमेत छन् । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलमाथि संविधानको धारा २४९(२) ङ अनुसार कारबाही सिफारिस भएको छ ।
जसमा आयोगको कामअर्न्तगत ,‘मानव अधिकारको उल्लंघनकर्तालाई विभागीय कारबाही तथा सजाय गर्न कारण र आधार खुलाई सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने,’ उल्लेख छ । सोहीअनुसार उनीहरूमाथि कारबाही सिफारिस भएको हो ।
छैटौँपटक थपिएको म्यादभित्र पनि प्रतिनिधिसभा हल निर्माण पूरा नहुने
सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माण सम्पन्न गर्न अन्तिमपटक भनेर गत फागुनमा छैटौँपटक ९० दिन समय थपेको थियो । १६ पुस ०८२ मा पाँचौँपटक म्याद सकिएको थियो । थपिएको ९० दिनको समय सकिनै लाग्दा समग्र भवनको प्रगति विवरण ९६ प्रतिशत मात्रै छ ।
विभागका प्रवक्ताका अनुसार भवनको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रगति ८५ प्रतिशत छ । ‘मेजर काम त सकिसकेको छ । माइनर काम बाँकी हो । विदेशबाट अलिकति समान आइपुगेन,’ उनले भने, ‘पाँच महिनाअघि नै भुक्तानी गरेको सामान पनि आएन । समयभित्र सकिएन भने कानुनबमोजिम हुन्छ ।’ १ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेको संसद् भवन सात वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन ।
नेपाललाई सहजै हराउँदै इरान फाइनलमा
घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा इरान सहज जित निकाल्न सफल भयो। नेपाल इरानसँग २५–२०, २५–१५ र २५–११ ले पराजित भयो।
अब इरानले शुक्रबार फाइनलमा कजाकस्तानसँग खेल्नेछ। दिनको पहिलो सेमिफाइनलमा कजाकस्तानले भारतलाई सोझो सेटमा हराएको थियो। शुक्रबार नै नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ।
प्रशिक्षक जगदीश भट्टले प्लेइङ सेटमा कप्तान निरुता ठगुन्नालाई बाहिर राख्दै मीना सुनार, उषा भण्डारी, कामना बिष्ट, प्रगति नाथ, सलिना श्रेष्ठ, सुनिता खत्री र सुमित्रा रेग्मीलाई खेलाएका थिए। भट्टले पहिलो सेटमा सलिना बुढा मगरलाई अवसर दिएका थिए।
दोस्रो सेटमा पनि उनले कुनै परिवर्तन गरेनन्। कामनाको स्थानमा रिमा कुँवर, महिनाको स्थानमा कप्तान निरुता र सेलिनाको स्थानमा शान्तिकला तामाङलाई मौका दिएका थिए।
तेस्रो सेटमा भट्टले मिना र सुनितालाई बाहिर राख्दै कप्तान निरुता र रिमा कुँवरलाई अवसर दिएका थिए। तर पनि नेपाली टिम ब्लक, स्पाइक र सर्भिसमा चुकेको थियो।
२०.२७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीमै
गरिबी निवारण नीति, २०७६ ले सन् २१०० सम्म निरपेक्ष गरिबीको अन्त्य गर्ने र बहुआयामिक गरिबी तीन प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।
सामाजिक सुरक्षा र संरक्षणमा बढ्दै गएको सार्वजनिक लगानी, गरिबलक्षित कार्यक्रमको निरन्तरता, रेमिट्यान्स आय प्राप्त गर्ने परिवारको संख्यामा भएको वृद्धि, सामाजिक क्षेत्रका परिसूचकमा भएको सुधारलगायतको कारण गरिबीको तथ्यांकमा सुधार आएको सर्वेक्षणले जनाएको छ ।
यद्यपि, सन् २०१५ को तुलनामा खासै अन्तर देखिएको छैन । सन् २०१५ मा राष्ट्रिय गरिबीको रेखामुनि रहेको जनसंख्या २१.६ प्रतिशत रहेकोमा सन् २०२४ मा २०.२७ प्रतिशत रहेको छ । यद्यपि, बहुआयामिक गरिबीमा रहेको जनसंख्या भने घटेको छ । सन् २०१५ मा ४४.२ प्रतिशत रहेको यस्तो जनसंख्या १७.४ प्रतिशतमा झरेको छ । मानव विकास सूचकांक ०.६२२ पुगेको छ ।