काभा च्याम्पियनसिप : फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्दै

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण
  • इरानसँग भिड्नुअघि नेपालले तीन दिनको विश्राम पाउँदा खेलाडीलाई सहज भएको प्रशिक्षक जगदीश भट्टको बुझाइ

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि बिहीबार इरानसँग प्रतिस्पर्धा गर्दै छ । राष्ट्रिय खेलकुद परिषद्मा इरान समूह ‘बी’बाट अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘ए’मा नेपालले उपविजेता हुँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । पहिलो खेलमा भारतसँग ३–२ ले पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र माल्दिभ्सलाई सोझो सेटमा निराश बनाएको थियो । कप्तान निरुता ठगुन्नासँगै मीना सुनार, कामना विष्ट, सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ, सुनिता खत्रीले तीनवटै खेलमा सानदार प्रदर्शन गरेका थिए ।

इरानसँग भिड्नुअघि नेपालले तीन दिनको विश्राम पाएको छ । रेस्ट पाउँदा खेलाडीलाई सहज भएको प्रशिक्षक जगदीश भट्टको बुझाइ छ । ‘हामीले तीन दिन विश्राम पाएका छौँ । त्यसलगत्तै इरानको खेल काजकिस्तानसँग हेर्न पायौँ,’ उनले भने, ‘इरानी खेलाडीको उचाइ धेरै हुने हुँदा सर्भिस, रिसिभ तथा ब्लकमा ध्यान दिनुपर्नेछ ।’ विश्व भलिबल महासंघको वरीयतामा इरान ४४ र नेपाल ५४औँ स्थानमा छन् । 

नेपालले यसै प्रतियोगिताबाट वरीयता प्राप्त गरेको हो । इरानले एक दशकदेखि नै वरीयता पाएको थियो । काभा च्याम्पियनसिपको विजेताले सिधै एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा चीन सर्वाधिक पाँचपटकको विजेता हो । थाइल्यान्ड, जापान, दक्षिण कोरिया काजकिस्तान, मलेसिया, फिलिपिन्स, भियतनामजस्ता एसियाकै महारथी टोली नियमित रूपमा खेल्ने गरेका छन् । 

काभाकै पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतको सामना गर्दै छ । इरानले समूह ‘बी’को अन्तिम खेलमै काजकिस्तानलाई सोझो सेटमा हराएको थियो । त्यसैले पनि इरान नेपालविरुद्ध उच्च मनोबलसहित मैदान उत्रनेछ । 

इरानकी सेफिनुड दास्तबार्जनले नेपाली समर्थकमाझ खेल्न उत्साहित भएको बताइन् । ‘भारतविरुद्ध नेपाली समर्थकको उपस्थिति देखेका छौँ । सेमिफाइनलमा पनि यस्तै हुने विश्वास छ । हामी त्यो माहोलमा खेल्न उत्साहित छौँ,’ उनले भनिन्, ‘हामी नेपालसँग खेल्न मानसिक रूपमा तयार छौँ ।’

इरानसँग तेस्रोपटक खेल्दै
नेपाल र इरानबिच यो तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि यी दुई टोलीबिच दुईपटक राखेपको कभर्ड हलमै भएको थियो । सन् २०२४ मा भएको भेटमा नेपाल र इरानले समान एक जित र हार सामना गरेका थिए । अहिलेको इरान र नेपाली टोलीमा धेरै फरक भएको प्रशिक्षक भट्टले बताए । ‘त्यो समयको इरान टिम निकै कमजोर थियो । यसपटक उसले धेरै सुधार गरेको छ, तर नेपाली टिम पनि धेरै परिवर्तन भएको छ । युवा खेलाडी छन्,’ उनले भने । सन् २०२४ को काभा च्यालेन्ज लिगमा नेपाल समूह चरणको खेलमा इरानसँग ३–२ ले पराजित भएको थियो । इरानले नेपाललाई २५–१६, १६–२५, २५–२३, १४–२५ र १५–१३ ले हराएको थियो । सेमिफाइनलमा नेपालले सोझो सेटमा इरानलाई २५–२१, २८–२६ र २५–२० को हरायो । नेपाल फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

किर्गिस्तान पाँचौँ र माल्दिभ्स सातौँ स्थानमा
किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराउँदै काभा महिला भलिबल च्याम्पियनसिपमा पाँचौँ स्थान रक्षा गरेको छ । पाँचौँ स्थानका लागि भएको खेलमा किर्गिस्तानले पहिलो सेट १५–२५ ले गुमाएको किर्गिस्तानले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको हो । किर्गिस्तानले दोस्रो र तेस्रो सेट समान २५–२३ ले जित्दा चौथो सेटमा २५–१५ को सहज जित निकाल्यो । श्रीलंकाले भने छैटौँ स्थानमा रहेर प्रतियोगिताको समापन गर्यो । अर्को खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदै माल्दिभ्सले सातौँ स्थान रक्षा गरेको छ । समूह ‘ए’मा रहेको माल्दिभ्स प्रतियोगितामा जितविहीन भएको थियो । पहिलो सेट २५–२७ ले गुमाएको माल्दिभ्सले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जितेको हो । माल्दिभ्सले दोस्रो सेट २५–११ ले जित्दै खेल बराबरी गर्यो । तेस्रो सेट २५–१७ र चौथो सेट २५–१२ ले जितेको हो । बंगलादेश भने आठौँ स्थानमा सीमित रह्यो ।

See More On

सुझावित समाचार