- दक्षिणपन्थी पपुलिस्ट चाँडै नै इयूका सबैभन्दा प्रभावशाली देश फ्रान्स र जर्मनीका कार्यकारी पदमा पुग्न सक्ने सम्भावना देखिएको छ । यसले युक्रेनप्रति युरोपको भविष्यको प्रतिबद्धतालाई असर पुग्न सक्छ ।
संयुक्त अधिराज्य र अस्ट्रेलियामा हालै भएका स्थानीय चुनावमा दक्षिणपन्थी पपुलिस्ट दलले राम्रो मत ल्याए । रिफर्म युके र वान नेसन पार्टीप्रति समर्थन बढेको छ । योसँगै बेलायतमा निगेल फराज र अस्ट्रेलियामा पाउलिन ह्यान्सन भावी प्रधानमन्त्री हुँदै छन् भन्ने मिडियामा वहस सुरु भएको छ । त्यसो त दक्षिणपन्थी पपुलिस्ट दललेअहिले नै इटलीजस्ता युरोपेली देशमा सरकार चलाइरहेको छ । युरोपमा उग्र दक्षिणपन्थीका लागि अर्को ठुलो चुनावी परीक्षण जर्मनी र फ्रान्समा हुनेछ ।
युरोपको ठुलो शक्तिमा गणना हुने इटलीमा जर्जिया मेलोनीको ‘ब्रदर्स अफ इटली’ पार्टी युरोपमा उग्र–दक्षिणपन्थी पपुलिस्ट पार्टीमध्ये सबैभन्दा सफल उदाहरण हो । यसले सन् २०२२ को चुनावमा सबैभन्दा धेरै मत जित्यो र दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्व गर्यो । पार्टीको फासीवादी इतिहास, आप्रवासनविरोधी बयानबाजी र शक्ति केन्द्रित गर्ने प्रयास छ । यसका बाबजुद मेलोनीले युरोपेली संघ, नेटो र युक्रेनप्रति समर्थन जनाएर युरोपमा आफ्नो सरकारलाई केही हदसम्म सामान्य बनाउन सफल भएकी छिन् ( अन्य युरोपेली उग्र–दक्षिणपन्थी पार्टीको विपरीत) ।
जर्मनीमा दक्षिणपन्थीको उभार
फ्रान्सका नेसनल र्याली र जर्मनीका ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’जस्ता दल युरोपेली संघलाई कमजोर बनाउन चाहन्छन् भने पुटिनको बढ्दो निरंकुशता र अधिनायकवादसँग आफूलाई पंक्तिबद्ध गर्दै आएका छन् । सेप्टेम्बरमा जर्मनीमा दुई क्षेत्रीय चुनाव हुँदै छन्, जहाँ सर्वेक्षणमा एएफडी अग्रस्थानमा छ । अप्रिल २०२७ मा हुने फ्रान्सको राष्ट्रपति चुनावअघि भएका मत सर्वेक्षणमा नेसनल र्यालीका उम्मेदवारहरूले पनि बलियो रूपमा अग्रता लिएका छन् । अर्को शब्दमा दक्षिणपन्थी लोकप्रियतावादीहरूले चाँडै नै इयूका दुई सबैभन्दा प्रभावशाली देशमा महत्वपूर्ण कार्यकारी शक्ति प्राप्त गर्न सक्छन् । यसले युक्रेनप्रति युरोपको भविष्यको प्रतिबद्धतालाई असर गर्न सक्छ ।
जर्मनीमा एएफडीले सत्तामा आए युक्रेनका लागि दिइदै आएको सबै सैन्य सहायता अन्त्य गर्ने, रुसमाथिको प्रतिबन्ध हटाउने र रुसी इन्धन आयात खोल्ने प्रस्ताव गरेको छ । पार्टीको मुख्य ध्यान आप्रवासन र शरणमाथि प्रतिबन्धमा छ । यसले आप्रवासन रोक्न जोड दिन्छ । यो कट्टरपन्थी विचारले करिब २० लाख ‘नसमेटिएका जर्मन नागरिक’लाई उत्तर अफ्रिकी मोडेलमा ‘स्थानान्तरण’ गर्न सकिन्छ भन्ने प्रस्ताव गर्छ । साथै आप्रवासनलाई तीव्र रूपमा घटाउने र शरण प्रतिबन्धित गर्ने प्रस्ताव गर्छ । जर्मनीको संघीय घरेलु गुप्तचर एजेन्सीले पार्टीलाई ‘अतिवादी संस्था’ भन्छ । यसका बाबजुद एफडीले सेप्टेम्बरमा पूर्वी जर्मनीमा हुने दुई प्रमुख क्षेत्रीय चुनावका लागि गरिएका सर्वेक्षणमा अग्रता लिइरहेको छ (र कम्तीमा पूर्ण बहुमत प्राप्त गर्न सक्ने देखाएको छ) । परम्परागत दलहरूले सुरक्षा औजार स्थापना गरेका छन्, जसले ऐतिहासिक रूपमा राष्ट्रिय वा क्षेत्रीय स्तर दुवैमा एएफडीसँगको गठबन्धनलाई रोकेको छ ।
फ्रान्समा नेसनल र्याली पार्टीको प्रभाव बढ्दै
नेसनल र्याली (जसलाई आरएन भनेर चिनिन्छ) पार्टी सन् १९७२ मा स्थापना भएको थियो र सुरुमा नव–फासीवादसँग यसको सम्बन्ध थियो । यद्यपि, नेतृ मरिन ले पेन (जसले २०११ मा बुबाबाट पदभार ग्रहण गरेकी थिइन्) ले पार्टीलाई सामान्य बनाउन र यसको आकर्षणलाई फराकिलो बनाउन धेरै हदसम्म प्रयत्न गरिन् । उनले पार्टीलाई आफ्नो बुबाको यहुदीविरोधी भावानाबाट टाढा राखिन् । मरिनले आफ्नो ध्यान आप्रवासनविरोधी, फ्रान्सेली राष्ट्रवाद र इस्लामिक अतिवादको विरोधमा बढी केन्द्रित गरिन् ।
उनी २०१७ र २०२२ मा राष्ट्रपति पदको दोस्रो चरणमा पुगिन्, तर दुवैपटक मध्यमार्गी इमानुएल म्याक्रोँबाट सहजै पराजित भइन् । यद्यपि, त्यसवेलादेखि नेसनल र्यालीले समर्थन बढाएको छ । म्याक्रोँ संवैधानिक रूपमा अर्को चुनावमा भाग लिन असमर्थ भएपछि ली पेनका विश्वास पात्र जोर्डन बार्डेला (ली पेनलाई कानुनी रूपमा चुनाव लड्नबाट प्रतिबन्ध लगाइएको अवस्थामा ) धेरैजसो उम्मेदवारविरुद्ध अन्तिम चरणको प्रतिस्पर्धामा अगाडि रहेका सर्वेक्षणले देखाएका छन् ।
आरएन परम्परागत रूपमा पुटिन र रुसनिकट मानिन्छ । ली पेनले युक्रेनको क्रिमियामा रुसको विलयलाई समर्थन गर्छिन् र फ्रान्सलाई नेटोको एकीकृत कमान्ड संरचना छाड्ने प्रतिबद्धता जनाएकी छिन् । तर, २०२२ मा युक्रेनमा पूर्ण आक्रमण भएपछि रुसमैत्री बयानबाजी कम भएको छ, जुन पश्चिमी युरोपको धेरैजसो भागमा राजनीतिक रूपमा विषाक्त छ । जर्मनीमा एएफडी सत्तारुढ गठबन्धनमा सामेल हुन केही समय लाग्ने भए पनि फ्रान्समा अर्को वर्षको राष्ट्रपति चुनावमा आरएनले जित्ने सम्भावना धेरै छ । यसले इयूको एक मात्र आणविक शक्ति र स्थायी संयुक्त राष्ट्र सुरक्षा परिषद् सदस्यभित्र पार्टीलाई शक्तिशाली कार्यकारी भूमिका दिनेछ ।
हालैका वर्षमा युरोपमा सबैभन्दा सफल दक्षिणपन्थी लोकप्रियतावादी भिक्टर ओर्बान थिए । उनले फिडेज पार्टीको नेतृत्व गरे, जसले अप्रिलमा इयू समर्थक विपक्षीका लागि चुनामा विजय नहुँदासम्म १६ वर्षसम्म हंगेरीमा सत्ता सम्हालेको थियो । युक्रेनका लागि यो विजयको महत्व तुरुन्तै स्पष्ट भयो, जब नयाँ हंगेरी सरकारले ९० अर्ब युरो इयू ऋण (लगभग १४६ अर्ब अस्ट्रेलियाली डलर) को आफ्नो भिटो त्याग्यो । यो कोषले आगामी दुई वर्षमा युक्रेनलाई सहयोग गर्नेछ । तर, उग्र–दक्षिणपन्थीहरूले इयूका सबैभन्दा शक्तिशाली देशमा अझै बढी शक्तिशाली भएर आए भने ती देशका लागि इयू समर्थनबारे दीर्घकालीन प्रश्न उठ्छ, वास्तवमा पुटिनले केका लागि युद्ध गरिरहेका छन् ?
(सिम्पसन एडिलेड विश्वविद्यालयका वरिष्ठ लेक्चरर हुन् )
द कन्भर्सेसनबाट