बाघको आक्रमणबाट एक नाबालकसहित चारजना घाइते

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा बाघको आक्रमणमा परेर चारजना घाइते भएका छन्। मंगलबार साँझतिर दैजी–बेलडाँडी सडकमा बाघको आक्रमणमा परेर एकै घरका तीनसहित चारजना घाइते भएका हुन्।  बेलौरी नगरपालिका– ९, रतनपुरका वीरेन्द्र ठगुन्ना, निजकी श्रीमती कल्पना ठगुन्ना, ठगुन्नादम्पतीका अढाई वर्षीय नाबालक छोरा रियान्स ठगुन्ना र ठगुन्नाकी भान्जी भीनपा– १५, खैरभट्टकी बालिका आरुसी साहु घाइते भएका हुन्। घाइतेहरूको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीको मायामेट्रो अस्पतालमा भइरहेको छ । 

महेन्द्रनगरदेखि बेलौरी घर जाने क्रममा बेलडाँडीको कालिकिचनजिकै बाघले आक्रमण गरेपछि चारैजना घाइते भएका थिए।  मोटरसाइकलमा सवार  वीरेन्द्र ठगुन्नाले आफूमाथि बाघले सुरुमै आक्रमण गरेर मोटरसाइकल लडाएको बताए । नहरबाट सडकतिर आएको बाघ मोटरसाइकलमा ठोक्किएको र बाघले नै आफ्नो हातमा पञ्जा प्रहार गरेर जंगलतिर गएको उनले बताए । 

‘म, श्रीमती, छोरा र भान्जीसहित घर गइरहेका थियौँ,’ उनले भने, ‘सडकमा एक्कासि बाघ आयो, मलाई झम्टियो, हामीले होहल्ला गर्यौँ, त्यसपछि मोटरसाइकल अनियन्त्रित भयो, हामी त्यही लड्यौँ, महेन्द्रनगर आइरहेको एक सरकारी कार्यालयको गाडीले उद्धार गरेर अस्पताल पुर्यायो, भाग्यले बाँचियो ।’ सदैव आफूले त्यही सडकमा आउजाउ गरे पनि पहिलोपटक बाघले आक्रमण गरेको उनले अनुभव सुनाए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर महेन्द्रनगर धनगढी जोड्ने उक्त दैजी बेलडाँडी सडकमा वन्यजन्तुको आक्रमण हुन थालेपछि यात्रु त्रसित भएका छन् । हुलाकी सडक, महाकाली सिँचाइ र निकुञ्जको जंगल पर्ने भएकाले सडक छेउछाउमा झाँडी सफाइसमेत नहुँदा ओहोरदोहोर गर्ने यात्रुमाथि वन्यजन्तुको आक्रमण बढिरहेको छ । स्थानीय युवा सुरेन्द्र सिंहले सडक, नहर छेउछाउमा रहेको झाँडी सफाइ गरेपछि यात्रुलाई सहज हुने बताए । 
 

सुझावित समाचार