- गर्मी बढेसँगै लुम्बिनीमा घटे पर्यटक
- भेरी अस्पतालमा इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’
- पश्चिम तराईमा शुक्रबार पानी पर्ने, आज र भोलि गर्मी नै रहने
अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिमका तराईसँगै त्यस क्षेत्रका उपत्यकाहरूको जनजीवन प्रभावित बनेको छ । कोशी, मधेश, बागमती, गण्डकीमा पानी परिरहे पनि पश्चिमतिर मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम दुवै तापक्रम उच्च छ । जसले दैनिक जनजीवन नै प्रभावित पारेको हो ।
नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा पहाडी जिल्ला डोटीको दिपालय, सुर्खेत र दाङमा गर्मी अत्यधिक बढेको छ । ती क्षेत्रमा ३ जेठदेखि तापक्रम उकालो लागेकामा सोमबार धनगढीको अधिकतम तापक्रम ४१.४ र न्यूनतम २७.२ डिग्री सेल्सियस मापन भएको थियो । यद्यपि, पहाडी क्षेत्रमा बादल लाग्नुका साथै केही ठाउँमा पानी पर्दा मंगलबार भने धनगढीको अधिकतम तापक्रम ४० र न्यूनतम २६.४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान कार्यालयका अत्तरियाका मौसम विज्ञान सहायक वीरेन्द्र कुशवाहाले बताए । गत बिहीबार धनगढीको अधिकतम तापक्रम ४१.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार नेपालगन्जमा अधिकतम तापक्रम ३९.८ र न्यूनतम २७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जकी मौसम विज्ञान सहायक मीना सिवाकोटीले नेपालगन्जमा ८ मेयता पानी नपरेको बताइन् । ८ मेमा ९.२ मिलिमिटर मात्र पानी परेको थियो ।
मंगलबार अधिकतम तापक्रम सुर्खेतमा ३७.५, भैरहवामा ३८, दिपायलमा ३६.२, दाङ (घोराही)मा ३४.७ र सिमरामा ३०.५ डिग्री सेल्सियस मापन भएको छ । मंगलबार सिमरामा २२.९ र भैरहवामा २.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यसभन्दा पश्चिमका तराई र उपत्यकामा भने वर्षा भएन ।
बजारमा घट्यो चहलपहल
दिउँसोको समयमा तातो हावा चल्न थालेपछि बजारमा मानिसको चहलपहलमा कमी आएको छ । गर्मीले हिँडडुल गर्न कठिनाइ हुन थालेपछि कञ्चनपुरमा केही पालिकाले विद्यालय बिदा दिएका छन् । धनगढी, महेन्द्रनगर, नेपालगन्जलगायत बजारमा दिउँसो चहलपहल निकै घटेको छ । ‘अहिले दिउँसोको समयमा तातो हावा चलिरहेको छ । न्यूनतम तापक्रम ३० डिग्रीहाराहारी पुगे पनि राति तातो हावा हुन्छ,’ जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक वीरेन्द्र कुशवाहाले भने ।
गर्मी अत्यधिक बढेपछि बालबालिका, वृद्धवृद्धा र मजदुरी गर्नेहरू बढी मारमा परेका छन् । ‘दिउँसोको समयमा हिँड्डुल गर्नै गाह्रो भयो । गर्मी यस्तो बढेका वेला बारम्बार बिजुली जाँदा झन् समस्या भएको छ,’ धनगढीका स्थानीय सन्तोष बोहराले भने, ‘भिडभाड भइरहने धनगढी बजारमा दिउँसो हिँडडुल गर्ने मान्छे कम देखिन थालेका छन् ।’
घर निर्माणमा मजदुरी गर्दै आएका रतन विकले दिउँसोको समयमा काम गर्न सक्ने अवस्था नरहेको बताए । हिजोआज दिउँसोको दुई/तीन घण्टा बाहिर निस्कनै नसकिने भएको उनले बताए । गर्मीका कारण अस्पतालमा बिरामीसमेत बढ्न थालेको चिकित्सकहरू बताउँछन् । डोटीको दिपायलमा पनि गर्मी बढ्न थालेको छ । दिउँसोको समयमा घरबाहिर निस्कनै गाह्रो हुने गरी गर्मी बढेको त्यहाँका स्थानीयले बताएका छन् ।
गर्मीले बाँके, बर्दियाको जनजीवन पनि प्रभावित छ । दैनिक ज्याला मजदुरी गर्ने, विद्यार्थी, गरिबीको रेखामुनि रहेका सर्वसाधारण, अस्पतालमा भर्ना भएका बिरामी बढी प्रभावित भएका छन् । दिउँसो काम गर्न मुस्किल हुने गरेको नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोमा घर बनाउँदै गरेका बारबर्दिया नगरपालिका– ५ का रामस्वरूप थारूले बताए । ‘गर्मीले दिउँसो काम गर्न सकिँदैन,’ उनले भने, ‘जति पानी पिए पनि तिर्खा लागिरहन्छ । काम गरौँ गर्मीले सताउँछ, नगरौँ गुजारा चल्दैन ।’
भेरी अस्पतालमा इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’
गर्मीका कारण ‘हिटस्ट्रोक’हुने जोखिम बढेपछि नेपालगन्जको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’मा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बताए । गर्मी अत्यधिक बढेपछि मानिसमा हिटस्ट्रोकको जोखिम उच्च हुने उनी बताउँछन् । भेरी अस्पतालमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आउनेलगायतका बिरामीको संख्या बढिरहेको छ ।
‘चर्को गर्मीका कारण शरीरमा घमौरा आउने, डिहाइड्रेसन, फुड प्वाइजनिङ, आँखामा एलर्जी तथा संक्रमणका बिरामीको संख्या बढेको छ,’ दर्नालले भने ।
गर्मीबाट जोगिन दिउँसोको चर्को घाममा घरबाहिर ननिस्कन उनको सुझाव छ । त्यस्तै हल्का, सुती र खुला कपडा लगाउन, बाहिर निस्कँदा छाता, टोपी वा सन ग्लास प्रयोग गर्न, बासी वा खुला ठाउँमा राखिएको खाना नखान, फलफूल र ताजा खाना बढी खान, प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउन, अत्यधिक गर्मी महसुस भए तुरुन्त छाया वा चिसो ठाउँमा आराम गर्न पनि चिकित्सकको सुझाव छ । लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा वान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सुझाव दिए ।
पश्चिम तराईमा शुक्रबार पानी पर्ने, आज र भोलि गर्मी नै रहने
पश्चिम तराई तथा त्यहाँका उपत्यकामा गर्मी घट्न भने आगामी शुक्रबारसम्म कुर्नुपर्ने देखिन्छ । त्यहाँका पहाडी क्षेत्रमा बादल लाग्नुका साथै हल्का पानी पर्दा तराई क्षेत्रमा यसअघिजस्तो निरन्तर तापक्रम बढ्ने क्रम रोकिएको छ । तर, तापक्रम घट्ने गरी भने आगामी शुक्रबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनु महर्जनले बताइन् ।
‘बिहीबार रातिबाट पश्चिम नेपालमा पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुने देखिन्छ,’ महर्जनले भनिन्, ‘शुक्रबार त्यहाँका पहाडी र तराई क्षेत्रमा मध्यमसम्मको पानी पर्छ ।’
पूर्वी र मध्य नेपालमा आज र भोलि हावाहुरीसँगै वर्षाको सम्भावना
बुधबार र बिहीबार देशको मौसममा मिश्रित प्रभाव देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, बागमतीसँगै पश्चिममा गण्डकी प्रदेशलगायत क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ । बुधबार मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागमा अपराह्नपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ ।