नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य एवं पूर्वकप्तान खेलाडी सन्दीप लामिछानेलाई बृज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीले दोस्रोपटक आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
ब्रान्ड एम्बासडर नियुक्तिका लागि मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा दुई पक्षबिच सम्झौता भएको थियो। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र बृजका अध्यक्ष महेश गिरीको उपस्थितिमा निर्देशक भुवन गिरी र सन्दीप लामिछानेबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
बृजले सन्दीप लामिछानेलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको यो दोस्रोपटक हो। यसअघि भदौ ०८१ मा दुई पक्षबिच दुई वर्षका लागि हस्ताक्षर भएकोमा मंगलबार पुनः दुई वर्षका लागि नवीकरण एवं सम्झौता भएको हो।
सम्झौतापछि अध्यक्ष महेश गिरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै विश्वस्तरमा नेपालको नाम चिनाएका तथा विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका सन्दीप लामिछानेसँग सहकार्यलाई निरन्तरता दिन पाउँदा आफूहरू उत्साहित भएको बताए।
उनले भदौ ०८१ मा सन्दीप लामिछानेसँग पहिलोपटक ब्रान्ड एम्बासडरका लागि सम्झौता गरेको हिजोअस्तिजस्तो लागे पनि सहकार्य सुरु भएको दुई वर्ष हुन लागेको बताए। यसबिचमा दुवै पक्षले विभिन्न कार्यक्रमहरूमा सहकार्य गरेको जानकारी पनि दिए।
निर्देशक भुवन गिरीले सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने उद्देश्यसहित सम्झौता नवीकरण गरिएको बताउँदै यो सहकार्य आगामी दिनमा पनि जारी रहने बताए।
उनले सन्दीप लामिछानेजस्ता विश्वभर चर्चित तथा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० र १५० विकेट लिने विश्व कीर्तिमान बनाएका खेलाडीसँगको सहकार्यले बृजले शिक्षा र खेलकुदलाई सँगै अगाडि लैजान चाहेको जानकारी दिए।
सम्झौतापछि सन्दीप लामिछानेले बृजसँगको सम्झौताले आफूलाई थप हौसला र प्रेरणा मिलेको बताए।