जगदीश खरेलको अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपा सांसदको माग

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

विपक्षी दलहरूको विरोधलाई खरेलले ‘तमासा’ भनेपछि मल्लले आपत्ति जनाएका हुन्। यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकमा खरेलले विपक्षी दलहरूको ‘तमासा’का कारण १० वर्षमा आवश्यक कानुन नबनेको टिप्पणी गरेका थिए।

सत्तारूढ दलका सांसद खरेलको शब्द अपमानजनक र असंसदीय रहेको औँल्याउँदै मल्लले भने, ‘के संविधान र कानुनी व्यवस्थाअनुसार सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्प्रति उत्तरदायी बन्नु भन्नु के त्यो तमासा देखाएको हुन्छ?’

अघिल्लो संसदमा प्रतिपक्षमा रहँदा रास्वपाले गरेका विरोधहरू स्मरण गराउँदै उनले अगाडि भने, ‘के सभामुखको वेलअगाडि निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साक्षी हामी होइनौँ? के ती पनि तमासा देखाएका थिए?’

सुझावित समाचार