तेस्राे खुला डुंगादौड प्रतियोगितामा ५० टोलीले प्रतिस्पर्धा गर्ने

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

पोखराको  प्रमुख पर्यटकीय केन्द्र फेवातालमा जेठ तेस्रो साता तेस्राे संस्करणको पुरुष तथा महिला खुला डुंगादौड प्रतियोगिता हुने भएको छ। फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा १८ जेठमा हुने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ १५ गरी ५० टिमले प्रतिस्पर्धा गर्ने आयोजक संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। 

प्रत्येक टिममा तीनजना डुंगाचालक रहने प्रतिस्पर्धामा पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म गरी तीन किलोमिटर र महिलातर्फ बाराही घाटदेखि लिची गार्डेनसम्म गरी दुई किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने अध्यक्ष गिरीले जानकारी दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्त्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउन यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको गिरीले जानकारी दिए। प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले ३०, दोस्रोले २०, तेस्राेले १० र सान्त्वना स्थान प्रप्त गर्नेले पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
 

सुझावित समाचार