बाढीपहिरोले चार जलविद्युत् आयोजनामा क्षति, ५५ मेगावाट विद्युत् उत्पादन बन्द

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

अविरल वर्षासँगै काबेली र इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथर सीमा क्षेत्रका चार जलविद्युत् आयोजनमा क्षति पुर्याएको छ । सो क्षतिबाट ५५ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प भएको छ । बाढीले  बाँधस्थल, इन्टेक, पाइपलाइन र विद्युतगृहमा क्षति पुर्याएपछि आयोजनाहरूरू बन्द भएका हुन् । 

प्रभावित आयोजनामध्ये अरुण काबेली लिमिटेडद्वारा सञ्चालित २५ मेगावट क्षमताको काबेली बी– १ आयोजना र सोही आयोजनाको १० मेगावाट क्षमताको क्यासकेट आयोजना बन्द छन्। यस्तै, रिडी हाइड्रोपावर लिमिटेडको ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना तथा इवा हाइड्रोपावर लिमिटेडको ९.७ मेगावाट क्षमताको आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यहाँ उत्पादित विद्युत् पाँथथरको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ। 

अरुण काबेली पावर लिमिटेडका कर्मचारी लेखराज न्यौपानेका अनुसार काबेली खोलामा आएको बाढीले आयोजनाको इन्टेक बाँध क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीसँगै आएको ढुंगामाटो, लेदो र काठका मुढा इन्टेक र बाँध क्षेत्रमा थुप्रिएपछि उत्पादन बन्द गर्नुपरेको न्यौपानेले बताए। शनिबार दिउँसोदेखि पानीको बहाव घट्न थालेपछि इन्टेक क्षेत्रमा पुप्रिएको सामग्री हटाउने काम सुरु गरिएको न्यौपानेले बताए । तर, अन्य संरचनामा पनि क्षति पुगेकाले मर्मतसम्भार गरेर आयोजना पुनः सञ्चालनमा ल्याउन कम्तीमा दुई सातासम्म लाग्न सक्ने बताए। 

इवाखोला जलविद्युत् आयोजनामा पनि बाढीले बाँधस्थल र पाइपलाइनमा क्षति पुर्याएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार क्षतिग्रस्त संरचान पुनर्निर्माण गर्न महिनौँ लाग्न सक्छ। इवा हाइड्रोपावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार इन्द्रावती खोलामा आएको बाढीले आयोजनाको बाँधस्थल, इन्टेक, पाइपलाइन र विद्युतगृहमा गम्भीर क्षति पुर्याएको छ। आयोजना पुनः सञ्चालनमा आउन लामो समय लाग्ने बताइन्छ। बाढीबाट आयोजनाहरूमा भएको आर्थिक क्षतिको विवरण आउन अझै समय लाग्ने कम्पनीहरूले बताएका छन् । 
 

सुझावित समाचार