ललितपुर महानगरपालिका– १५, ज्ञाननगर क्षेत्रमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाही स्थायी घर भई हाल ललितपुरको हात्तीवनमा बसोबास गर्दै आएका अनिरुद्रप्रसाद साहकी आठ वर्षीया छोरी रोशनी साहको उपचारका क्रममा निधन भएको हो।
शनिबार अपराह्न करिब ३:३० बजे ज्ञाननगर टोलमा सडक पार गर्ने क्रममा प्रदेश १–०३३ च ८७८० नम्बरको जिपले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो। उपचारकै क्रममा शनिबार साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न जिपचालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका घर भई हाल ललितपुरको हात्तीवन बस्दै आएका २१ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।