नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि पदत्याग गर्न दबाब बढ्दै गएको छ। शुक्रबारदेखि जारी सचिवालय बैठकमा पार्टी पुनर्गठनको आवाज बलियो बन्दै गएको छ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि ओलीलाई साथ दिएनन्। उनले पार्टी पुनर्गठनको आवाज उठाएका छन्। एक पदाधिकारीका अनुसार अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने उनको भनाइ थियो।
त्यस्तै, उपमहासचिव योगेश भट्टराईले राजीनामा दिन सुझाव दिएका छन्। अहिलेको नेतृत्वबाट पार्टी चल्न नसक्ने उनको भनाइ छ।
शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चारजनाले ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए। रामबहादुर थापा बादलबाहेकका उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन्। उपाध्यक्षहरूले २१ फागुनको चुनावमा पार्टीले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टीलाई पुनर्गठनको दिशामा लैजान आफूहरू पनि राजीनामाका लागि तयार रहेको घोषणासमेत गरेका छन्। विश्वासपात्र मानिने उपाध्यक्ष पौडेल तथा महासचिव पोखरेलसमेत पार्टी पुनर्गठनको पक्षमा उभिएपछि ओली दबाबमा पर्दै गएका छन्। यद्यपि उनले आफू निर्वाचित अध्यक्ष भएकाले राजीनामा नदिने अडान राखेको एक नेताले जानकारी दिए।
बैठकमा बाँकी पदाधिकारीले धारणा राखेपछि ओलीले आइतबारको बैठकमा जवाफ दिनेछन्।