३५ वर्षदेखि र्याफ्टिङ गाइडका रूपमा काम गर्दै आएको छु । मेरो आधा जीवन नदीमै बितेको छ । पानीसँग खेल्दै, तैरिँदै, पल्टिँदै र संघर्ष गर्दै मैले जीवन बाँचेँ, बचाएँ । नदीले मलाई धेरै कुरा सिकायो– धैर्यता, साहस, अनुशासन र जीवनको मूल्य । यही यात्रामा मैले धेरै मानिसको ज्यान जोगाउने अवसर पनि पाएँ । मेरो अधिकांश समय नदीमै बितेको छ, त्यसैले पानीसँग मेरो सम्बन्ध केवल पेसा होइन, जीवनको हिस्सा पनि बनेको छ ।
पानीमा खेल्नुको आनन्द नै फरक हुन्छ । नदीको बहावसँगै बग्दै जाँदा मन हलुका हुन्छ, तनाव हराउँछ । त्यसैले मेरा लागि र्याफ्टिङ केवल मनोरञ्जन मात्र होइन, एउटा ‘साहसिक उपचार’ पनि हो । दैनिक कामको थकान बोकेर आउने मानिस नदीमा पुगेपछि सबै तनाव बिर्सन्छन् । र्याफ्टिङ मेरा लागि मेडिटेसनजस्तै हो, जहाँ मानिस प्रकृतिसँग घुलमिल भएर स्वतन्त्र महसुस गर्छन् ।
विदेशी पर्यटक नेपालका नदीमा र्याफ्टिङ गर्नकै लागि पनि आउँछन् । नदीआसपासको प्राकृतिक सौन्दर्य, स्थानीय जनजीवन र हिमाली वातावरणले उनीहरूलाई लोभ्याउँछ । पछिल्लो समय नेपाली युवायुवतीमा पनि र्याफ्टिङप्रतिको आकर्षण बढ्दो छ । साथीभाइसँग रमाइलो गर्न, बिदाको समय सदुपयोग गर्न र नयाँ अनुभव लिन धेरै मानिसले र्याफ्टिङ रोज्ने गरेको पाइन्छ । त्रिशूली र भोटेकोशीका क्याम्प आन्तरिक पर्यटकले भरिभराउ हुन्छन् । एकै दिनमा तीन–चार सयसम्म पर्यटक क्याम्पमा पुग्ने गरेको पाइन्छ ।
नेपालमा र्याफ्टिङका लागि धेरै उत्कृष्ट नदी छन् । एकदिने र्याफ्टिङका लागि त्रिशूली र भोटेकोशी लोकप्रिय छन् । त्यस्तै लामो यात्राका लागि कर्णाली र तमोर नदी प्रसिद्ध छन् । कर्णालीमा १० दिनसम्मको र्याफ्टिङ गरिन्छ, जुन दैलेखबाट सुरु भएर बर्दियाको चिसापानीसम्म पुग्छ । यात्राका क्रममा क्याम्पिङ गरिन्छ । खानाका सम्पूर्ण सामग्री बोकेर नदीमा यात्रा गरिन्छ ।
तमोर नदीको र्याफ्टिङ अझ चुनौतीपूर्ण र साहसिक मानिन्छ । काठमाडौंबाट विराटनगर हुँदै वसन्तपुर पुगेर सात दिनसम्म हाइकिङ र ट्रेकिङ गरिन्छ । त्यसपछि दोभानबाट नदी यात्रा सुरु भएर धरान–चतारासम्म पुगिन्छ । तमोर आफैँमा जोखिमपूर्ण नदी हो, त्यसैले यहाँ अत्यन्त सचेत भएर काम गर्नुपर्छ । यो टिमवर्क अनुभव र सतर्कताका साथ जोखिम कम गर्दै यात्रा गरिन्छ । दिनमा १५ देखि १८ किलोमिटरसम्म नदीमा बगिँदै यात्रा गरिन्छ । साहसिक खेलका लागि तमोर नेपालकै उत्कृष्ट नदीमध्ये एक मानिन्छ ।
मनसुनको समयमा नदीको बहाव झन् तीव्र हुन्छ । हिमनदी र वर्षाको पानी मिसिएर नदीको सतह अचानक बढ्न सक्छ । पानी परेपछि खोलामा आउने बाढी र तीव्र बहावले चुनौती थपिन्छ । यस्तो अवस्थामा र्याफ्टिङ गर्दा पल्टिने, बग्ने वा तैरिनुपर्ने परिस्थिति आउन सक्छ । त्यसैले, विशेष सावधानी अपनाएर मात्रै र्याफ्टिङ गरिन्छ ।
र्याफ्टिङअघि ध्यान दिनुपर्ने कुरा
र्याफ्टिङ रोमाञ्चक खेल भए पनि यो उच्च जोखिमयुक्त गतिविधि हो । त्यसैले, सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो । सबैभन्दा पहिले, अनुभवी र तालिम प्राप्त गाइड छनोट गर्नु आवश्यक हुन्छ । गाइडसँग कति अनुभव छ, नदीबारे उसको ज्ञान कस्तो छ भन्ने बुझ्नुपर्छ । नदीको बहाव हरेक घण्टा फरक हुन सक्छ, त्यसैले गाइडको निर्देशन पालना गर्नु अनिवार्य हुन्छ । सुरक्षा सामग्रीको गुणस्तरमा कुनै सम्झौता गर्नुहुँदैन । हेल्मेट, लाइफ ज्याकेट, डोरी र बोट सबै सुरक्षित र मापदण्डअनुसारका हुनुपर्छ । बजारमा धेरै सस्ता प्याकेज पनि पाइन्छन्, तर अत्यधिक सस्तो सेवामा सुरक्षा र गुणस्तर कमजोर हुन सक्ने भएकाले सचेत रहनुपर्छ ।
र्याफ्टिङ सुरु गर्नुअघि गाइडले करिब आधा घण्टा सेफ्टी ब्रिफिङ गराउँछन् । नदीमा बग्दा खुट्टा कसरी राख्ने, टाउको कसरी जोगाउने, डोरी कसरी समात्ने र आपत्कालीन अवस्थामा के गर्ने भन्ने सबै जानकारी ध्यानपूर्वक सुन्नुपर्छ । यो खेल टिमवर्कमा आधारित हुन्छ, त्यसैले सबैले एक–अर्कालाई सहयोग गर्नपर्छ । र्याफ्टिङमा आत्मविश्वास आवश्यक हुन्छ, तर अत्यधिक आत्मविश्वास पनि खतरनाक हुन सक्छ । नदीलाई कहिल्यै हल्का रूपमा लिनुहुँदैन । विशेषगरी मनसुनमा नदीको स्वभाव बदलिन सक्छ ।
वर्षाको समयमा स्वाभाविक रूपमा नदी ठुलो हुन्छ । यस्तो वेला धेरै गाइड खटिएका हुन्छन् । र्याफ्टिङ जानुअघि आधारभूत जानकारी लिन बिर्सनुहुँदैन । रिभर गाइडले दिने ब्रिफिङ ध्यानपूर्वक सुनेर हुबहु पालना गर्नैपर्छ । नदीमाथि आफू पनि जिम्मेवार बन्नैपर्छ । आपत् परेका वेला एक–अर्काको सहयोगी बन्नुपर्छ । मौसमबारे पूर्वजानकारी राखेर र्याफ्टिङ जाने मिति तय गर्नु राम्रो हुन्छ ।