फाइनलमा काठमाडौं र सिइसी भिड्ने

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

वाइवाइ काठमाडौं जिल्लास्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौं क्रिकेट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्ट्रर (सिइसी) बिच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं जिल्ला क्रिकेटको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार मूलपानी मैदानमा हुनेछ । 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा काठमाडौं क्रिकेटले महावीर क्लबलाई पाँच विकेटले हरायो । सुरुमा ब्याटिङ गरेको महावीरले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदा मात्र ९३ रनको लक्ष्य दियो । प्रत्युत्तरमा काठमाडौंले १४.५ ओभरमा पाँच विकेट गुमाउँदै फाइनल यात्रा तय गर्याे । 

काठमाडौंका लागि ईशान शाह सुवेदीले ४२ बलमा सर्वाधिक ४६ रन बनाए । त्यसअघि महावीरको लागि बुद्धिमान पाख्रिनले ३८ बलमा ३३ रन जोडेका थिए । खेलको प्लेयर अफ दी म्याच लक्ष्मण जेगेराले ६ रन खर्चेर ३ विकेट लिएका हुन् ।  

यस्तै, दोस्रो सेमिफाइनलमा एक्सिलेन्सले हिमालयन क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गर्याे । सुरुमा ब्याटिङ गरेको एक्सिलेन्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८२ रनको लक्ष्य दियो । प्रत्युत्तरमा हिमालयनले निर्धारित २० ओभर नै खेले पनि नाै विकेट गुमाएर मात्र ९९ रन बनायो । 

एक्सिलेन्सको जितमा प्लेयर अफ दी म्याच रनवीर यादवले ५४ बलमा सर्वाधिक ९६ रन बनाए । प्रसिद्ध जैशीले ५२ रनको योगदान गरेका थिए । हिमालयनका लागि सुवास विकले सर्वाधिक २४ रन मात्रै जोडेका थिए । एक्सिलेन्सका धीरज देउवाले सर्वाधिक चार विकेट लिए ।

सुझावित समाचार