जैविक संरक्षण र जीविकोपार्जनका लागि लहानमा बहुउद्देश्यीय संरक्षण पोखरी निर्माण गरिँदै

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

चुरे क्षेत्रको विनाशसँगै जलवायु परिवर्तनको कारण बढ्दो पानीको संकट न्यूनीकरण गर्दै स्थानीय विपन्न किसानको जीवनस्तर उकास्न सिराहाको लहान नगरपालिका– १५, लग्राहास्थित ढोढना खोलाकिनारमा बहुउद्देश्यीय संरक्षण पोखरी निर्माण थालिएको छ।

राजदेवी चुरे सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने ढोढना खोलाकिनारको करिब १० बिघा क्षेत्रफलमा संरक्षण पोखरी निर्माण थालिएको हो। पोखरी निर्माणका लागि सामुदायिक वन उपभोक्ता महासंघबाट १० लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग रहेको कार्यक्रम अधिकृत टेकेन्द्र शाहले जानकारी दिए। पोखरी निर्माणका लागि नगरपालिकाले जेसिबी र टिपरको व्यवस्था गर्ने समझदारीबमोजिम एक महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

तीव्र वन विनाशले चुरे क्षेत्रमा पानीका मुहानहरू सुक्न थालेपछि वन्यजन्तु गाउँ पस्ने समस्या बढ्दै गएको उल्लेख गर्दै उनले भने, ‘पोखरी निर्माणपछि चुरे क्षेत्र र वन्यजन्तु, जैविक विविधताको संरक्षणसँगै स्थानीय विपन्न किसानको जीविकोपार्जन, पर्या–पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य छ।’

पोखरी निर्माणले सिँचाइ सुविधा हुँदा कृषि उत्पादनसमेत बढ्ने लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए। ‘पोखरी निर्माणपछि स्थानीय कृषकलाई ठुलो राहत हुनेछ,’ उनले भने, ‘पोखरीको पानीले चुरेको काखमा रहेको लाग्राहासहित वरपरका करिब पाँच सय बिघा खेतमा सिँचाइ सुविधा पुग्नेछ।’ लहान नगरपालिकाको समन्वयमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) र राष्ट्रिय कृषक समूह महासंघलगायतका संस्थाहरूको सहकार्यमा सञ्चालित ‘संरक्षण परियोजना’अन्तर्गत पोेखरी निर्माण थालिएको उनले बताए।

‘मुहान संरक्षण नगरको मुख्य प्राथमिकता’
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले चुरे क्षेत्रको पर्यावरण र सुक्दै गएका पानीका मुहान जोगाउने कार्यलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताए। चुरे क्षेत्रको संरक्षण र स्थानीयको जीवनस्तर उकास्न एकीकृत प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, ‘चुरेको संरक्षण जीवनमरणको सवाल बनेको छ, वनक्षेत्रमा पानीको संकट हुँदा पर्यावरण मात्र होइन, तल्लो तटीय क्षेत्रको खेतीपातीसमेत संकटमा पर्छ।’

उक्त संकट निवारणका लागि विभिन्न विकास साझेदार संस्थाहरूसँगको समन्वयमा चुरे क्षेत्रमा संरक्षण पोखरी निर्माणलाई अभियानकै रूपमा अघि बढाएको उनले बताए। पोखरीमा बर्खाको पानी भण्डारण गरी पहिचान गरिएका विपन्न किसानले आफ्नो खेतबारीमा सिँचाइ गर्नुका साथै त्यसले जमिन पनि रिचार्ज हुने भएकाले दीर्घकालीन रूपमा पानीको अभाव हुन नदिन पोखरी निर्माण थालिएको उनले बताए। 

त्यसअघि लहान– १५ र १८ मा मुतनी उपजलाधार व्यवस्थापन समन्वय समितिमार्फत बेतहा र विचारीबाहेक स्थानीय भरोसिया खोला, तेतराही, पकडियागढ, कोइरालो खोला, बाबाजी, मुतनी खोला, सामुदायिक वन क्षेत्रमा ६ वटा संरक्षण पोखरी र तटबन्ध निर्माण गरिएको समितिले जनाएको छ। समितिका अनुसार राजदेवी चुरे वनको संरक्षण पोखरी निर्माणपछि बेतहामा पनि निर्माणका लागि सम्झौता भइसकेको छ।

सामुदायिक वन समूहअन्तर्गत गठन गरिएका ३२ वटा कृषक समूहमा आबद्ध रहेका ७५० किसानमध्ये सम्बन्धित वन समूहको सम्पन्नता स्तरीकरणको आधारमा ‘घ’ वर्गका अति विपन्न, गरिब, दलित र एकल महिला गरी चार सयजनालाई किसान कार्ड वितरणसँगै आय–आर्जनसम्बन्धी काम गर्न जनही ३५ हजार रुपैयाँको दरले एक करोड ४० लाख रुपैयाँ बिउ पुँजी उपलब्ध गराइएको महासंघले जनाएको छ।

‘उक्त रकम परिचालन गरी विपन्न किसानले इच्छाएको व्यापार–व्यवसाय गरी आयआर्जनसम्बन्धी काम गरिरहेका छन्’ कृषक समूह महासंघका कार्यक्रम संयोजक दिलीपकुमार साहले भने, ‘मुतनी उपजलाधार क्षेत्रमा पर्ने विपन्न, गरिब, दलित र एकल महिला किसानको आर्थिक अवस्था उकास्न विभिन्न आय–आर्जनमूलक क्रियाकलापहरू सञ्चालन गरिएको छ।’
 

सुझावित समाचार