सिराहाको लहान नगरपालिका– १३ घलेटोल गाउँका २० मुसहर दलित परिवारलाई शौचालय, भान्सासहितको पक्की घर हस्तान्तरण गरिएको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले शुक्रबार बिहान बस्तीमा स्थानीय रेखादेवी सदायको पक्की घरको रिबन काटेर साँचोसहित हस्तान्तरण गरे।
‘अन्य ठाउँमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण खाली गर्ने नाममा विनाविकल्प सुकुमवासी दलित र अन्य सुकुमवासीहरूको उठीवास गरिँदै छ, तर लहान क्षेत्रका सुकुमवासी, गरिब, विपन्नलाई सुरक्षित आवासका लागि नगरको समेत आर्थिक सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्दै छौँ,’ चौधरीले भने।
पेट पाल्नकै लागि मजदुरी गर्दै आएका स्थानीय मुसहर समुदाय बर्खाको सँघारमा पक्की घर पाएपछि खुसी भएका छन्। घलेटोल आवास उपभोक्ता समितिकी कोषाध्यक्षसमेत रहेकी स्थानीय ३५ वर्षीया सन्तोषी सदायले जस्ता हालिएको पक्की घर पाएपछि थप सुरक्षित महसुस भएको बताइन्। ‘मजदुरीले पेट पाल्न पनि गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘नगरपालिकासमेतको सहयोगमा घर पाएपछि ढुक्क भयौँ।’
‘हरेक बर्खा र हिउँदमा बालबच्चासहित आफूहरू कसरी जोगिने भन्ने चिन्ताले सताउँथ्यो,’ स्थानीय बिल्टौन सदायले भनिन्, ‘पक्की घर पाएपछि त्यो चिन्ता हटेको छ।’
सिराहाको धनगढीमाई नगरपालिका– २, भवानीपुरस्थित भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरणमा नगरपालिकाको आ.व. ०८१/८२ को विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत ६९ लाख चार हजार ५९६ रुपैयाँ, ह्याबिट्याट फर ह्युमानिटी नेपालको १६ लाख ६६ हजार ६९६ रुपैयाँ र स्थानीय समुदायको श्रमदान मूल्यांकन २१ लाख ४२ हजार ८३३ रुपैयाँ लागतमा २० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।
केन्द्रका सामाजिक विकास अधिकृत ज्ञानदीप चौधरीका अनुसार आर्थिक वर्ष ०८०/८१ देखि अहिलेसम्म लहान नगर क्षेत्रमा ११८ घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। नगरपालिकासमेतको सहयोगमा चालू आवमा लहान १३, १५ र १८ नम्बर वडामा गरी थप बनिरहेको २५ वटा घर असार मसान्तसम्म हस्तान्तरण गरिने योजना रहेको केन्द्रले जनाएको छ।