आइसिसी विश्वकप लिग–२ : नेपाललाई अंक सुधार गर्ने अवसर

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग २ मा घरेलु टोली नेपालले शुक्रबार अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अंक सुधार गर्ने लक्ष्य राखेको छ । स्कटल्यान्डलाई हराएर अमेरिका ३८ अंकका साथ शीर्ष स्थानमा फर्किएको हो । नेपाल २२ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले छैटौँ स्थानको नामिबियासँग बराबरी अंक जोडेको छ । एक स्थानमाथि रहेको नेदरल्यान्ड्स नेपालभन्दा ६ अंकले अगाडि छ ।

अमेरिकालाई हराउँदा नेपालले नेदरल्यान्डसँग ४ अंक दूरी राख्नेछ । नामिबियासँग २ अंकको अग्रता लिनेछ । यसकारण पनि नेपालले अमेरिकासँगको चालू सिरिजकै अन्तिम खेललाई महत्वका साथ लिएको छ । नामिबिया र नेदरल्यान्ड्ससँग अर्को महिना प्रतिस्पर्धा गर्नुअघि पनि नेपाललाई स्पष्ट अग्रता आवश्यक पर्छ । अमेरिकासँग पराजित हुँदा नेपालको पाँचौँ स्थान कमजोर बन्नेछ ।

नामिबियाले नेपाललाई पाँचौँ स्थानबाट विस्थापित गर्ने धेरै अवसर छ । नेदरल्यान्ड्सलाई पनि नेपालमाथिको अंक दूरी बढाउने मौका छ । यद्यपि, अर्को महिनामा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबिचको त्रिकोणात्मक एकदिवसीय खेलबाट अंक दूरीको टुंगो लाग्नेछ ।

अहिले नेपालले चारमध्ये दुई खेलमा जित निकाली महत्वपूर्ण ४ अंक जोडेको छ । नेपालले अमेरिका र स्कटल्यान्डलाई हराइसकेको छ । स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल झिनो २ रनले पराजित भएको थियो । त्यसछि नेपालले अमेरिका र स्कटल्यान्डमाथि सानदार जित निकाली ४ अंक जोडेको थियो । नेपालले यसै त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गत एक महिनाभित्र सातमध्ये पाँच खेलमा जित हात पारी १० अंक जोडेको छ । 

घरेलु मैदानमा नेपाल बलियो
नेपालले अहिलेसम्म त्रिवि क्रिकेट मैदानमा अमेरिकासँग कुनै पनि खेल गुमाएको छैन । एकदिवसीय खेलमा नेपाल अमेरिकासँग यस मैदानमा अपराजित छ । यद्यपि, अमेरिकाले विश्वकप लिग २ मा अन्य मैदानमा भएका खेलमा नेपालमाथि एकपक्षीय जित निकालेको छ । नेपालले पछिल्ला पाँचमध्ये चार खेलमा जित हात पारेको छ । अमेरिकाले पाँचमध्ये दुई खेल गुमाएको अवस्था छ । अमेरिकाले नेपालविरुद्ध पछिल्लो पाँचमध्ये चार खेलमा जित निकालेको थियो । अहिले भने नेपाल र अमेरिका उत्कृष्ट फर्ममा छन् । स्कटल्यान्डसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । अमेरिकाले स्कटल्यान्डविरुद्धको पछिल्लो खेलमा सबै विधामा गतिलो प्रदर्शन गरेको थियो । नेपालका प्रशिक्षक स्टुवार्ट लले अमेरिकासँगको खेल महत्वपूर्ण हुने बताइसकेका छन् । ‘आगामी खेलमा हामी अमेरिकासँग थप सुधारिएको प्रदर्शन गछौँ,’ स्कटल्यान्डसँगको खेलपछि उनले भनेका थिए, ‘ब्याटिङ र बलिङमा थप सुधार गर्नुपर्छ ।’ 

स्पिनरको प्रभाव
अहिले त्रिवि मैदानमा स्पिनर हावी भइरहेका छन् । सहभागी तीनवटै टोलीका स्पिनरले जितमा प्रमुख भूमिका निर्वाह गरेका छन् । नेपालका बायाँहाते स्पिनर ललित राजवंशीले अघिल्लो खेलमा चार विकेट हात पारेका थिए । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पनि तीन विकेट गत खेलमा लिएका थिए । अमेरिकाका स्पिनरले पनि स्कटल्यान्डलाई ६ विकेटले हराउँदा धारिलो प्रदर्शन गरे । नेपालको ब्याटिङमा ओपनर कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा प्रभावशाली देखिएका छन् । 

See More On

सुझावित समाचार