सुर्खेत विमानस्थलमा निःशुल्क सटल बस विस्तार

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको नि:शुल्क सटल बस सेवा विस्तार भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन्।

उक्त निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालयअन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले नि:शुल्क सटल बस सेवा विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म विस्तार गरिएको बताए। विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘यस नागरिक उड्डयन कार्यालबाट यात्रुहरूका लागि नि:शुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्चालन हुँदै आएकोमा उक्त सटल बस सेवा शुक्रबारदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्चालन हुने हुँदा सम्पूर्ण यात्रु महानुभावहरूको जानकारी लागि अनुरोध गरिन्छ।’ सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको प्रमुख हवाई केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

सुझावित समाचार