कोशीदेखि गण्डकीसम्म वर्षा, पश्चिम तराईमा तातो हावा

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

देशको मौसममा यति वेला दोहोरो प्रभाव देखिएको छ। गण्डकीदेखि पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय बनेर पानी परेको छ । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम सुक्खा छ । अझ त्यहाँका उपत्यका र तराई क्षेत्रमा तातो हावाको लहर चलिरहेको छ ।

बिहीबार इलामको कन्याममा १५२ मिलिमिटर पानी पर्दा पश्चिममा रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्ला भने तापक्रम ३६.७ देखि ४१ डिग्री सेल्सियससम्म मापन भएको छ ।  

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले पोखरा क्षेत्रमा बादल लागेर त्यहाँदेखि पूर्वी क्षेत्रमा पानी परे पनि पश्चिममा सुक्खा रहेको बताए। ‘प्रि-मनसुन अघिल्लो साताजस्तो देशभर सक्रिय छैन। खण्डित वर्षा भइरहेको छ,’ उनले भने, ‘पश्चिम लुम्बिनीसहितका पश्चिम क्षेत्रमा अझै आइतबारसम्म गर्मी नै हुने देखिन्छ।’ यसबाहेक पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले पनि पानी परिरहेको हो ।

विभागका अनुसार शुक्रबार र शनिबार पनि गण्डकीदेखि पूर्वी क्षेत्रमा वर्षाको सम्भावना छ । तर, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । 
वर्षाले पूर्वी तराई र उपत्यका क्षेत्रमा राहत भएको छ । तापक्रम निरन्तर उकालो लागिरहेका बेला बिहीबार कोशी, बागमती र गण्डकीमा पानी परेको हो । पश्चिम मधेशमा भने ठुलो पानी नपरे पनि बादल लाग्दा केही राहत भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार विराटनगरमा ३७, संखुवासभाको चैनपुरमा ६२.६, सिरहामा ३६.२, सिन्धुपाल्चोकको गोब्रेमा ८३.२, काठमाडौंको कपनमा ३६.२, गोरखामा ४८.४, चितवनको खैरहेनीमा ६०.२ र पोखरामा ५५.६ मिलिमिटर पानी परेको छ ।

नेपालगन्ज, धनगढी र दिपायलमा तापक्रम उच्च
पश्चिममा नेपालगन्ज, धनगढी र दिपायल लगायत क्षेत्रमा बिहीबार तापक्रम उच्च मापन भएको छ । ती क्षेत्रमा पानी परेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालगन्जको अधिकतम तापक्रम  ४१.५ र न्यूनतम २८ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, धनगढीमा अधिकतम ४१.३ र न्यूनतम २५.८ तथा दिपायलमा अधिकतम ४१.४ र न्यूनतम २१.४ डिग्री सेल्सियस मापन भएको छ । तुलनात्मक रूपमा कम गर्मी हुने डडेल्धुराको तापक्रम पनि ३०.८ डिग्री सेल्सियस पुगेको छ ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ३८.२, दाङको घोराहीमा ३६.७, भैरहवामा ३८.५ र सिमरामा ३४.२ डिग्री सेल्सियस मापन भएको छ ।

सुझावित समाचार