- इबोला संक्रमणबाट अहिलेको मृत्युदर लगभग ४० प्रतिशतभन्दा कम भए पनि खोप नभएकाले यसलाई बढी खतरनाक मानिन्छ
यसै साता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकामा इबोलाको प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गर्यो । हालसम्म मध्य–अफ्रिकी देश युगान्डा र पूर्वी–अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा ३३६ जना संक्रमित भइसकेका छन् । कम्तीमा ८८ जनाको मृत्यु भइसकेको छ । इबोला ओर्थोइबोलाभाइरस भनिने भाइरसहरूको समूहबाट संक्रमण हुन्छ । प्रकोपका लागि जिम्मेवार भाइरसको स्ट्रेन (भाइरसको आनुवंशिक रूप वा उपप्रकार) ‘बुन्डिबुग्यो’ दुर्लभ छ । यसको फैलावटबाट मानिसलाई बचाउन कुनै खोप छैन, जसले गर्दा यो विशेष गरी खतरनाक छ ।
जब कुनै गम्भीर, अचानक, असामान्य वा अप्रत्याशित प्रकोप सुरु हुन्छ र जसको फैलावट कम गर्न अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक पर्छ डब्लुएचओले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्छ । डब्लुएचओले पहिले मंकिपक्स, कोभिड, जिका, पोलियो र स्वाइन फ्लुजस्ता प्रकोपको समयमा सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ ।
कहिले फैलियो यो महामारी ?
प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)मा यो भाइरस पहिलोपटक पत्ता लागेको थियो र मे १५ मा बुन्डिबुग्यो स्ट्रेनका रूपमा पुष्टि भएको थियो । यो रोग युगान्डामा फैलिएको थियो । राजधानी कम्पालामा दुईजनामा संक्रमण देखिएको थियो । कंगोको सबैभन्दा बढी जनसंख्या भएको सहर किन्सासामा हालै देखिएको एक शंकास्पद केसमा पोजेटिभ देखिएको थिएन, तर किन्सासामा पनि यसको प्रकोप आउन सक्ने सम्भावना भने देखिन्छ । डब्लुएचओले प्रकोपको वास्तविक मात्रा हालको तथ्यांकले औँल्याएभन्दा ठुलो हुन सक्ने चेतावनी दिएको छ ।
यो कसरी फैलियो ?
सुरुमा अफ्रिकामा फलफूल खाने चमेरोमार्फत भाइरस संक्रमण सरेको देखिन्छ । चमेरोबाट बाँदर, लंगुर र मृगमा संक्रमण सरेको अनुमान छ । यो संक्रमण पहिलोपटक सन् १९७६ मा डिआरसीमा पहिचान गरिएको थियो । अहिले देखिएको इबोला प्रकोपको लहर १७औँ हो । सबैभन्दा खराब प्रकोप २०१४–१६ पश्चिम अफ्रिकी महामारी थियो, जुन जायर स्ट्रेनका कारणले भएको थियो र ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो भाइरस संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थ, जस्तै रगत, दिसा वा बान्तासँग प्रत्यक्ष सम्पर्कमार्फत मानिसबाट मानिसमा फैलिन्छ । स्वास्थ्य सेवाकर्मी र हेरचाहकर्ताले संक्रमणको उच्चतम जोखिमको सामना गर्छन् ।
के हुन् लक्षण ?
इबोला रोगका लक्षण अचानक देखिन सक्छन् र यसमा ज्वरो, थकान, अस्वस्थता, मांसपेशी, टाउको र घाँटी दुखाइ आदि पर्छन् । त्यसपछि बान्ता, पखाला, पेट दुख्नुका साथै मिर्गौला र कलेजोले काम गर्न छोड्छ । केही अवस्थामा रक्तस्रावसमेत हुन्छ । समग्रमा इबोला संक्रमितमध्ये लगभग ५० प्रतिशत मानिसको मृत्यु हुने गर्छ । मृत्युदर स्वास्थ्य सेवाको पहुँचमा पनि निर्भर हुन्छ । संक्रमणबाट अहिलेको मृत्युदर लगभग ४० प्रतिशतभन्दा कम छ । यद्यपि, खोप नभएकाले यसलाई बढी खतरनाक मानिन्छ ।
खोपको अवस्था के छ ?
इबोलाका लागि दुईवटा स्वीकृत खोप छन् । एउटा, ‘एर्भेबो’ हो, जसलाई २०१५ मा जारी गरिएको थियो र २०१८–२०२० को डिआरसी प्रकोपको समयमा तीन लाख ४५ हजार मानिसलाई प्रदान गरिएको थियो । यसले इबोला भाइरसको प्रोटिन प्रयोग गरेर हाम्रो प्रतिरक्षा प्रणालीलाई भाइरस पहिचान गर्न र प्रतिक्रिया दिन तालिम दिन्छ ।
बुन्डिबुग्यो स्ट्रेनका लागि कुनै विशेष उपचार छैन । रक्तचाप र हाइड्रेसन कायम राख्ने, बान्ता र पखाला कम गर्ने र ज्वरो र दुखाइ व्यवस्थापन गर्नेजस्ता लक्षण व्यवस्थापन गर्ने कुरामा उपचारकेन्द्रित छ । डब्लुएचओको इबोला निगरानी रणनीतिमार्फत जनस्वास्थ्य प्रतिक्रिया निरीक्षण गरिन्छ । प्रसारण रोक्न सामुदायिक सञ्चार, द्रुत निदान, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र सुरक्षित दाहसंस्कारजस्ता उपाय अपनाइन्छ । कन्ट्याक्ट ट्रेसिङमा लक्षणात्मक केससँग प्रत्यक्ष शारीरिक सम्पर्क भएका सबैलाई पहिचान गर्ने, २१ दिनसम्म दैनिक निगरानी गर्ने र लक्षण देखिने जोकोहीलाई पनि आइसोलेसनमा राख्ने र परीक्षण गर्ने व्यवस्था समावेश छ ।
परीक्षणमा कोभिडमा जस्तै भाइरल कणहरू पत्ता लगाउन पिसिआर र द्रुत एन्टिजेन परीक्षण (आरएटी) प्रयोग गरिन्छ । यद्यपि, स्थानीय द्वन्द्व, गरिबी र कठिन भूभाग मिलेर बनेका क्षेत्रले व्यवस्थापनलाई चुनौतीपूर्ण बनाउँछन् ।
के हामी चिन्तित हुनुपर्छ ?
प्रकोपको केन्द्रविन्दु द्वन्द्व प्रभावित जनघनत्वको चाप भएको, इटुरी प्रान्तको खानी क्षेत्र हो । कामदारहरू नियमित रूपमा स्वास्थ्य क्षेत्र र सिमाना पार गर्छन्, जसले गर्दा फैलावटको जोखिम बढ्छ । प्रकोपबाट कम्तीमा चार स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको छ । सीमा बन्द गरिहाल्नुपर्ने कुनै आवश्यकता छैन, तर अधिकारीले डिआरसी र युगान्डालाई कन्ट्याक्ट ट्रेसिङ बढाउन र प्रयोगशाला परीक्षण बढाउन सिफारिस गरेका छन् ।
अस्ट्रेलियामा प्रत्यक्ष जोखिम कम छ र डब्लुएचओले यात्रा प्रतिबन्ध नलगाउन सुझाव दिएको छ । अस्ट्रेलियाली सीमा अधिकारीले इबोला प्रभावित क्षेत्रबाट फर्कनेहरूले रिपोर्ट गर्न अनिवार्य गरेका छन् । यो द्रुत रूपमा विकसित भइरहेको अवस्था भएकाले, हालका प्रतिबन्धहरू र क्वारेन्टाइनसम्बन्धी निर्देशनसँग अद्यावधिक रहनु महत्वपूर्ण छ ।
कन्भर्सेसनबाट
(जेफ्रिज वेस्टर्न सिड्नी युनिभर्सिटीका वरिष्ठ उपप्राध्यापक हुन्)