एनसेल फाउन्डेसनले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीका लागि ‘एनसेल एसइई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । प्रोजेक्ट शिक्षासँगको सहकार्यअन्तर्गत यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीलाई अवसरको नयाँ ढोका खुला गर्ने बताइएको छ ।
फाउन्डेसनले यस वर्ष एक सयजना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । यो पहलले देशका हरेक कुनाका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीलाई विशेष प्राथमिकता दिने फाउन्डेसनले जनाएको छ ।
साथै, विद्यार्थीले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन् । यसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षासँग निरन्तर जोडिन सहयोग पुर्याउने जनाइएको छ । गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
ती विद्यार्थी अहिले विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययन गर्दै छन् । यस्तै, हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा छ ।