जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले घाइतेको अवस्थाअनुसार आर्थिक सहयोग वितरण सुरु गरेको जनाएको छ।

केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएका घाइतेको अवस्थाका आधारमा वर्गीकरण गरिएको हो। सोही विवरणअनुसार गृह मन्त्रालयले मासिक उपचार खर्च उपलब्ध गराएको उनले बताए।

सरकारले अति गम्भीर घाइते र उनीहरूको स्याहारसुसार गर्ने व्यक्तिलाई मासिक ९/९ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गम्भीर घाइतेलाई मासिक ९ हजार र मध्यम घाइतेलाई ४ हजार रुपैयाँ प्रदान गरिनेछ। सामान्य घाइतेलाई भने मासिक सहयोग नदिइने उल्लेख गरिएको छ।

यसका साथै, जेन-जी प्रदर्शनमा घाइते भएका सबैलाई एकमुस्ट ३५ हजार रुपैयाँ उपलब्ध गराइएको डा. बुढाथोकीले जानकारी दिए।

सरकारले गृह मन्त्रालयबाट उपलब्ध परिचयपत्रका आधारमा कुल ५३९ जना घाइतेलाई चार वर्गमा विभाजन गरेको छ। तीमध्ये २९ जना अति गम्भीर, १३० जना गम्भीर, ८५ जना मध्यम र २९५ जना सामान्य घाइते रहेका छन्।

सुझावित समाचार