मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा लागुऔषध गाँजा र खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार जेठ २ गते बिहान प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका– १०, बसपार्क क्षेत्रमा गस्तीका क्रममा शंकास्पद अवस्थामा बसेका पर्साको बिन्दवासिनी गाउँपालिका– ४ घर भएका ६० वर्षीय लक्कीचन हजरालाई पक्राउ गरेको हो।
उनको शरीर तथा साथमा रहेको झोला खानतलासी गर्दा झोलाभित्र लुकाइछिपाई राखिएको २१ किलो ३१० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजासहित हजरालाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै, अर्को घटनामा प्रहरीले हेटौँडा– १० स्थित बलराम दास पेट्रोल पम्पनजिकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई युवालाई पक्राउ गरेको छ। आइतबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।
प्रहरीले बा.प्र ०२–०४६ प ६९८३ नम्बरको मोटरसाइकलचालक राक्सिराङ गाउँपालिका– ३ घर भई हाल हेटौँडा– ४ कमलडाँडा बस्दै आएका २२ वर्षीय प्रतीक ठकुरीलाई जाँच गर्दा उनको पाइन्टको खल्तीभित्र प्लास्टिकको डिब्बामा लुकाइराखिएको ३७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनका साथी हेटौँडा– ८ कमाने बस्ने २५ वर्षीय विशाल देउलालाई पनि नियन्त्रणमा लिएको छ। उनलाई बा.प्र ०३–००५ प ५०१८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। प्रहरीले दुवै मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिमाथि लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।