नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी व्यक्तिगत रेकर्डनजिक रहेका छन् । नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एकदिवसीय फम्र्याटमा १५० विकेट लिने विश्वकै पहिलो बलर बन्ने सँघारमा उभिएका छन् । उनले ७२ खेलमा १४८ विकेट पूरा गरिसकेका छन् । एकदिवसीयमा अस्ट्रेलियाका मिचेल स्टार्कले ७८ खेलमा १५० विकेटको विश्वकीर्तिमान कायम गरेका छन् । स्टार्कको विश्व रेकर्ड तोड्न सन्दीपलाई दुई विकेट आवश्यक छ ।
करण र सोमपाल भने सय विकेटनजिक छन् । करणले एकदिवसीय खेलमा ९८ तथा सोमपालले ९५ विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबिचको विश्वकप क्रिकेट २ लिगमा यी तीन बलरसमक्ष व्यक्तिगत रेकर्ड राख्ने अवसर जुरेको छ । लिग २ अन्तर्गत सोमबार नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डको सामना गर्दै छ ।
मैदानमा नेपाललाई जित दिलाउने प्रयासमा रहँदा उनीहरू रेकर्डतर्फ पनि प्रतिस्पर्धा गरिरहेका हुनेछन् । सोमपाललाई सय विकेट पूरा गर्न पाँच विकेट आवश्यक छ । नेपाली क्रिकेट इतिहासमा सय विकेट लिने पहिलो फास्ट बलर बन्ने होडमा सोमपाल र करण दौडमा छन् । एक प्रकारले यस प्रतिस्पर्धामा नेपालका तीन बलरबिच कसले बढी विकेट लिने भन्ने त्रिकोणात्मक भिडन्त हुनेछ । एकदिवसीय फम्र्याटमा स्टार्कपछि कम खेलमा १५० विकेट लिने बलर पाकिस्तानका सक्लिन मुस्ताक हुन् । उनले ७८ खेलमा १५० विकेट लिएका थिए । यसैगरी, अफगानिस्तानका रसिद खानले ८० तथा भारतका मोहमद सामीले ८० खेलमै १५० विकेट लिएका थिए । विश्व क्रिकेटका नाम चलेका फास्ट बलर न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८२ तथा अस्ट्रेलियाका ब्रेट लीले ८४ खेलमा १५० विकेट हात पारेका थिए ।
तीनजनाकै नेदरल्यान्ड्सविरुद्ध डेब्यु
त्रिवि क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सोमपालले एकै दिन नेपालबाट एकदिवसीय टोलीमा डेब्यु गरेका थिए । सन् २०१८ मा नेपालले नेदरल्यान्ड्सको घरेलु मैदानमा एकदिवसीय डेब्यु खेल खेलेको थियो । अन्तर्राष्ट्रिय डेब्यु खेलमा सोमपालले ८.४ ओभरमा एक मेडन राखी तीन विकेट लिएका थिए । करणले सात ओभरमा एक मेडन राख्दै एक विकेट हात पारेका थिए । सन्दीपले ४२ रन दिएर एक विकेट आफ्नो नाममा लेखाए । त्यसयता यी तीनजना नेपालका प्रमुख बलरका रूपमा स्थापित भएका छन् ।
सन्दीपले अहिलेसम्म ७२ खेलको ७० इनिङ्समा बलिङ गरेका छन् । उनले नौपटक चार तथा तीनपटक पाँचभन्दा बढी विकेट हात पारेका छन् । नेपाली टोलीमा अलराउन्डर भूमिका निर्वाह गर्ने करणले ६९ खेलमा ६९ इनिङ्स बलिङ गरेका छन् । उनले ६ पटक चार विकेट र तीनपटक पाँचभन्दा बढी विकेट लिएका छन् । यसैगरी सोमपालले ७० खेलमध्ये ६९ इनिङ्समा बलिङ गरेका छन् । उनले एकपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले दुईपटक चार विकेट लिएका छन् । सन्दीपले ४९ इनिङ्समा ब्याटिङ गरी पाँच सय रन बनाएका छन् । उनले अहिलेसम्म ४९ चौका र नौ छक्का प्रहार गरेका छन् । सोमपालले ७० खेलमा तीन अर्धशतकका साथ ७९३ रन बनाएका छन् ।
शीर्ष स्थानको स्कटल्यान्डको सामना गर्दै नेपाल
आइसिसी विश्वकप लिग २ मा जितका साथ पुनरागमन गरेको नेपालले सोमबार शीर्ष स्थानको स्कटल्यान्डको सामना गर्दै छ । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी अमेरिकामाथि नौ विकेटको सानदार जित निकालेको थियो । नेपालले यही जितलाई निरन्तरता दिने मनासयका साथ प्रतिस्पर्धा गर्नेछ । यसअघि स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियमअनुसार २ रनले पराजित भएको थियो ।
लिग २ मा सहभागी हुँदा स्कटल्यान्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा थिए । तर, लगातार दुई जित निकालेको स्कटल्यान्ड शीर्ष स्थानमा पुग्यो । स्कटल्यान्डले नेपाल र अमेरिका दुवैलाई समान २ रनले हराएको थियो । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको स्कटल्यान्डलाई रोक्न नेपालका प्रमुख बलरले राम्रो योगदान दिनुपर्छ ।
नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध बलिङ र त्यसपछि ब्याटिङमा सानदार प्रदर्शन गरेको थियो । विशेषतः नेपालका ओपनरले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्नु नै जितको मुख्य आधार बनेको थियो । जितका साथ उच्च मनोबल बनाएको नेपाल स्कटल्यान्डविरुद्ध पनि दोहोर्याउने योजनामा छ । नेपालले तीन साताभित्र विश्वकप लिग २ मा महत्वपूर्ण ८ अंक बटुलेको छ । गत वैशााखमा भएको लिग २ मा नेपालले युएईलाई दुई तथा ओमानलाई एकपटक हराएको थियो । स्कटल्यान्डलाई हराउँदा नेपाल छैटौ स्थानमा पुग्नेछ । स्कटल्यान्डले ३० खेलमा ३८ अंक बनाएको छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । सातौँ स्थानमा रहेको नेपालले २६ खेलमा २० अंक बनाएको छ ।
स्कटल्यान्डले त्रिवि मैदानमा लगातार दुई जित निकालेको छ । पछिल्लोपटक स्कटल्यान्डसँग पाँच खेल खेल्दा नेपालले सबै गुमाएको छ । स्कटल्यान्डमै गत वर्ष सम्पन्न लिग २ मा नेपालले स्कटल्यान्डविरुद्ध एक जित हात पारेको थियो ।