खोटाङ–हलेँसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेँसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव २०८३’ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराँते संघ खोटाङले संयुक्त रूपमा आयोजना गरेको महोत्सव जेठ ९ गतेसम्म सञ्चालन हुनेछ। खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए।

महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिताहरू आयोजना गरिएको आयोजकले जनाएको छ। पहिलो दिन आज दौड प्रतियोगिता आयोजना गरिएको छ। छुट्टाछुट्टै उमेर समूह विभाजन गरेर ६ विधामा आयोजना गरिएको दौड प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरी ७५५ जना धावकले सहभागी भएका नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिए।

१५ वर्षभन्दा माथिका दश किलोमिटर खुला दौड प्रतियोगिताको महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम हुँदा रणभीम गण मुडे ब्यारेककी जानुका राउत द्वितीय र मनिता खड्का तृतीय भए। पुरुषतर्फ ताप्लेजुङका अमिर लिम्बू प्रथम, खोटाङका जगेन्द्र राई द्वितीय र सोलुखुम्बुका रुद्रधन कुलुङ तृतीय भए।

महिला-पुरुष दश किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु. १५ हजार, १० हजार र सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजयी धावकहरूलाई नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सुरक्षा प्रमुखलगायतले पुरस्कार वितरण गरेका छन्।

३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको सात किलोमिटर दौडमा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिंह तामाङ द्वितीय र खोटाङका शिवप्रसाद राई तृतीय भए। आमाहरूका लागि पाँच किलोमिटर दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय र भीमकुमार आचार्य तृतीय भएका छन्।

महोत्सव सम्पन्न गर्न रु. ३० लाख १३ हजार २३२ खर्च हुने अनुमान गरिएको छ। महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई रु. ११ हजार १११ नगदसहित पुरस्कृत गरेको छ। समापनको अवसरमा विभिन्न विधामा महत्वपूर्ण योगदान गर्ने पाँचजना व्यक्तिलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
 

सुझावित समाचार