- काठमाडौंका ठुला अस्पताल वीर, टिचिङ, पाटनमा मात्रै होइन, बालबालिकाको मात्र विशिष्टीकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन, सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बसपार्क र विमानस्थलजस्ता भिडभाड हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ
अन्य सार्वजनिक ठाउँमा त के सरकारी कार्यस्थल र अधिकांश ठुला अस्पतालमै पनि स्तनपान कक्ष छैनन् । नवजात शिशुलाई फर्मुला मिल्क (पाउडर दुध) पिलाउने ‘फेसन’ बढ्नुको एउटा प्रमुख कारण कार्यस्थल र अस्पतालमै स्तनपान कक्ष नहुनु हो ।
स्तनपानलाई प्रोत्साहन गर्न सरकारले संघअन्तर्गतका ठुला अस्पतालमै स्तनपान कक्ष बनाएको छैन । जहाँ बिरामीको अत्यधिक भिड मात्रै लाग्दैन, महिला कर्मचारी र सेवाग्राही उत्तिकै उपस्थित हुन्छन् । काठमाडौंका ठुला वीर, कान्ति बाल, त्रिवि शिक्षण, पाटन र टेकु अस्पतालमा स्तनपान कक्ष छैनन् । ट्रमा सेन्टर, निजामती अस्पताल र थापाथली प्रसूतिगृहमा भने स्तनपान कक्ष छन् ।
‘बिहानैदेखि शिशु बोकेर अस्पताल आएको, दिनभर लाइन बस्नुपर्यो । अझ बच्चालाई बोकेर उभिनुपर्यो, दुध खुवाउने कक्षसमेत छैन,’ त्रिवि शिक्षण अस्पतालमा केही दिनअघि भेटिएकी धादिङकी मैया खड्काले गुनासो गरिन्, ‘साना बच्चा बोकेका आमाहरू पनि अस्पतालमा आउँछन्, उनीहरूलाई स्तनपानका लागि बेग्लै कोठा चाहिन्छ भनेर सोच्नुपर्ने हो । अस्पतालले नै यस्तो समस्या नबुझेपछि अन्य ठाउँमा झन् कसरी स्तनपान कक्ष होस् !’ घरबाहिर हिँड्दा पर्याप्त स्तनपान गराउन नपाउँदा बच्चाको स्वास्थ्यमा समस्या देखिने गरेको उनको अनुभव छ ।
बालबालिकाको मात्रै उपचार हुने विशिष्टीकृत सरकारी अस्पताल कान्ति बालमै स्तनपान कक्ष छैन, जहाँ दैनिक सयौँ आमा बच्चा बोकेर आइपुग्छन् । उनीहरूलाई बस्न सजिलो मेचसमेत छैन । शिशुको उपचारका लागि गोरखाबाट आएकी सुस्मिता कार्कीले स्तनपान कक्ष र बस्ने मेच नहुँदा समस्या भोग्नुपरेको बताइन् । ‘संघीय राजधानीकै यति ठुलो अस्पतालमा त स्तनपान कक्ष हुनुपर्ने हो, तर रहेनछ,’ उनले भनिन्, ‘बरु, गोरखा जिल्ला अस्पतालमै थियो ।’
अस्पताल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष सेवाग्राहीलाई मात्रै चाहिने होइन । त्यहीँ कार्यरत नर्सलगायत महिला कर्मचारीलाई पनि चाहिन्छ । कतिपय नर्स/कर्मचारी साना बच्चालाई सँगै लगेर काममा खटिनुपर्ने अवस्था छ । तर, स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुँदा उनीहरूले दिनदिनै समस्या भोग्नुपरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक नर्सले आफूले भोगिरहेको पीडा सुनाइन्, ‘बच्चालाई समयमै दुध खुवाउन नपाउँदा र आराम दिन नसक्दा मेरो काममा समेत समस्या परेको छ । अहिले मलाई परेपछि थाहा पाएँ, स्तनपान कक्ष र शिशु स्याहार तथा आराम कक्ष सबै अस्पतालमा हुनुपर्ने रहेछ ।’
नेपाल नर्सिङ संघकी महासचिव देवकाकुमारी आचार्य अस्पतालमा नर्सहरूलाई त चिया खाने राम्रो कोठासमेत नभएको गुनासो गर्छिन् । ‘सरकारी कार्यालयमा अनिवार्य रूपमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र हुनैपर्छ भनेर मन्त्रालयसँग माग गरेका छौँ । अस्पतालमा ड्युटी गर्ने नर्सलाई त झन् चिया खाने राम्रो कोठासमेत छैन,’ उनले भनिन्, ‘धेरै महिला नियमित उपस्थित हुने ठाउँमा शिशु स्याहार केन्द्र नै राख्नुपर्छ । अन्यमा स्तनपान कक्ष राख्नुपर्छ ।’ स्वास्थ्य मन्त्रालयले ०७७ मै सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष बनाउने योजना सारे पनि अझै अलपत्र छ ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्मा शिशु स्याहार कक्ष सानो भएकाले अब स्तनपान कक्षसहित शिशु स्याहार केन्द्र व्यवस्थित पार्ने बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पनि स्तनपान र शिशु स्याहार कक्ष बनाउन खोजे पनि ठाउँ साँघुरो हुँदा सम्भव नभएको बताए । ‘अस्पतालमा शिशु र आमाको लागि छुट्टै कोठा बनाउन आवश्यक छ, हामीले चासो पनि दिएका छौँ, तर ठाउँ साँघुरो भएर समस्या परेको हो ।’
निजामती अस्पताल र ट्रमा सेन्टरमा भने एक वर्षअघि स्तनपान कक्ष बनाइएको छ । उक्त कक्षमा आमा र शिशुलाई केहीबेर आराम गर्न मिल्ने गरी कुर्सीहरू राखिएका छन् । निजामतीका निर्देशक डा. मोहनचन्द्र रेग्मी र ट्रमाका निर्देशक डा. बद्री रिजालका अनुसार अहिले स्तनपानका लागि सहज भएको छ । प्रसूतिगृहमा त अस्पतालले सञ्चालन गरेको मिल्क बैंकका कारण नवजात शिशुले फर्मुला मिल्क खानुनपरेको निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।
भिडभाडमा स्तनपान गराउन असहज हुने भएपछि घरबाहिर निस्किँदा कैयौँ आमाहरू बोतलमा पाउडर दुध बोकेर आउने गरेका देखिन्छन् । यो अवस्था अधिकांश ठुला अस्पतालमा मात्रै होइन, सरकारी कार्यालयहरूमा जाँदा पनि उस्तै छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार देशका ४० जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै स्तनपान कक्ष छन् । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै सीमित कार्यालयमा मात्रै यो सुविधा छ । अधिकांश मन्त्रालयमा स्तनपान कक्ष छैन । ६० भन्दा धेरै जिल्ला प्रशासन कार्यालयमा पनि यस्तो कक्ष छैन । त्यस्तै, निकै कम स्थानीय तहमा मात्रै यो सुविधा छ । देशका सबैजसो विमानस्थलमा भने स्तनपान कक्ष छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई स्वस्थ राख्न जन्मिएको एक वर्षसम्म २४ घण्टामा कम्तीमा १२ पटक स्तनपान गराउनुपर्छ । तर, नेपालमा स्तनपान गराउने आमाको संख्या घटिरहेको रिपोर्टहरू आएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शिशुलाई स्वस्थ राख्न जन्मिएको एक वर्षसम्म २४ घण्टामा कम्तीमा १२ पटक आमाको दुध खुवाउनुपर्छ । एक वर्षअघि गरिएको राष्ट्रिय सर्वेक्षणले स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशत मात्रै रहेको देखाएको थियो । पछिल्लोपटक यसमा अध्ययन भएको छैन । स्वास्थ्य मन्त्रालय र डब्लुएचओको टिमले यस अध्ययन गरेका थिए । आठ वर्षअघि गरिएको सर्वेक्षणमा ६५ प्रतिशत आमाले स्तनपान गराएको पाइएको थियो । तर, पछिल्लो अध्ययनमा झन् घटेको छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले स्तनपान गराउन दर कम हुनु निराशाजनक भएको बताए । ‘अहिले फर्मुला मिल्क खुवाउने गरिन्छ, तर आमाको दुध अमृतसम्मान हो, त्यससँग अरूको तुलना हुँदैन,’ उनले भने ।
ठुला निजी अस्पतालमा भने छन् स्तनपान कक्ष
अधिकांश ठुला सरकारी अस्पतालमा स्तनपान कक्ष नभए पनि निजी अस्पतालमा भने छन् । नर्भिक, ह्याम्स, मेडिसिटी, ग्रान्डी, केएमसी, एभरेस्टलगायत निजी अस्पतालमा स्तनपान कक्ष राखिएको छ । आमा र शिशुहरू अस्पताल आउने भएकाले सहजताका लागि स्तनपान कक्ष राखिएको एभरेस्ट अस्पतालका प्रशासन दीपक बरालले बताए । तर, जावलाखेलस्थित अल्का अस्पतालमा भने स्तनपान कक्ष छैन । शिशु स्याहार केन्द्र भने अधिकांश निजी अस्पतालमा पनि छैन ।
प्रहरी अस्पताल र मुख्यालयमा मात्रै छ स्तनपान कक्ष
नेपाल प्रहरी अस्पतालमा भने स्तनपान कक्ष छ । त्यहाँ शिशु स्याहार कक्ष भने छैन । नेपाल प्रहरीको मुख्यालयमा स्तनपान कक्ष छ । तर, प्रहरी महिलाका लागि आराम कक्ष तथा शिशु स्याहार कक्ष छैन । जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा पनि स्तनपान कक्ष भए पनि प्रहरीका सबैजसो वृत्त र प्रभागहरूमा भने छैनन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पनि स्तनपान कक्ष छैन ।
सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा छैन स्तनपान कक्ष
सिंहदरबारभित्र रहेका कार्यालयहरूमा समेत स्तनपान कक्ष छैन । शिक्षा, रक्षा, गृह, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन र सहरी विकास मन्त्रालयमा स्तनपान कक्ष छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार, अर्थ र कानुन मन्त्रालयमा भने छ । सिंहदरबारभित्रका संसदीय समितिका कार्यालयहरूमा पनि स्तनपान कक्ष छैन । बच्चा बोकेर कार्यालय आउनुपर्ने महिला कर्मचारीले स्तनपान कक्ष नहुँदा समस्या भोगिरहेका छन् । ‘कार्यालयमा आराम गर्ने र बच्चालाई राख्न तथा स्तनपान गराउन सहज हुने कोठा छैन । यहीँ काम गर्नेहरूका लागि त छैन, बाहिरबाट आउने सेवाग्राहीका लागि हुने कुरै भएन,’ सहरी विकास मन्त्रालयमा कार्यरत एक कर्मचारीले भनिन् । त्यस्तै, आराम कक्ष नहुँदा सिंहदरबारभित्रका महिला कर्मचारी बच्चालाई मोबाइलमा भुलाएर काम गर्न बाध्य छन् ।
सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालयमा भने यसअघि स्तनपान कक्ष थियो । तर, उक्त कक्ष रहेको पुरानो भवन जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएपछि अहिले समस्या छ । हाल मन्त्रालय सरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भवनमा स्तनपान कक्ष नभएकाले त्यहाँ काम गर्ने सुत्केरी महिला कर्मचारीले समस्या भोगिरहेका छन् । मन्त्रालयमा शिशु स्याहार केन्द्र त पहिले पनि थिएन ।
सेवाग्राहीको बढी भीड हुने कार्यालयमै कतै व्यवस्थित कतै अव्यवस्थित
जिल्ला प्रशासन कार्यालय भक्तपुरको एउटा सानो कोठामा दुईवटा कुर्सी राखेर स्तनपान कक्ष बनाइएको छ । तर, त्यहाँ आमा र शिशुलाई सहजै बस्न र आराम गर्न मिल्ने कुर्सी तथा टेबल राखिएको छैन ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा पनि निकै साघुँरो कोठामा दुई कुर्सी राखेर स्तनपान कक्ष बनाइएको छ । स्तनपान कक्षमा बेर्ड तथा बच्चा सुताउने र बसाल्ने ठाउँ समेत छैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भने व्यवस्थित स्तनपान कक्ष छ । त्यहाँ एउटा बेड, बच्चा सुताउन मिल्ने कोर्को र बच्चा भुलाउन खेलौनाहरू समेत राखिएको छ । ‘हामीकहाँ व्यवस्थित र सुविधासम्पन्न स्तनपाक कक्ष छ, बेड र बच्चालाई सुताउने सामानहरू पनि राखेका छौं,’ काठमाडौंका सिडिओ इश्वरराज पौडेलले भने ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि स्तनपान कक्ष छ, तर साघुँरो छ । यहाँ स्तनपान कक्षमा बेडहरू राखिएको छैन । त्यस्तै, काठमाडौं महानगरपालिकामा पनि साघुँरो कोठामा स्तनपान कक्ष राखिएको छ । सेवाग्राहीको भीड लाग्ने ठाउँ भएपनि यहाँ एकैपटक दुई–तीनजना आमा र शिशु बस्न मिल्दैन ।
बसर्पाकमा पनि छैन स्तनपान कक्ष
यात्रुको अत्यधिक चाप हुने गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा स्तनपान कक्ष नै छैन । यहाँ आफ्नो गन्तव्यमा जान गाडी कुर्न तथा चढ्न शिशु बोकेर आउने आमाहरूको संख्या अत्यधिक हुन्छ । तर, बसपार्कमा स्तनपान कक्षसमेत राखिएको छैन । यहाँ अस्तव्यस्त टिकट काउन्टर र बस व्यवसाय समितिका कार्यालयहरू छन् । शिशु बोकेर आउने आमाहरूले उभिएरै पछ्याराले छोपेर स्तनपान गराइरहेका हुन्छन् ।
‘बसपार्कमा शिशुसहित आउनेहरू धेरै हुनुहुन्छ, यहाँको बसपार्कमा त छिर्नै डर लाग्छ,’ नयाँ बसपार्क क्षेत्रमा भेटिएकी धादिङ गजुरीकी मिना थापाले भनिन्, ‘कम्तिमा बच्चालाई आराम गराउन र दुध खुवाउन सजिलो ठाउँ हुनुपर्ने हो, तर यहाँ त्यस्तो ठाउँ नै छैन ।’
पश्चिम नेपाल बस व्यवसाय समितिको टिकट काउन्टरमा भेटिएका माधब थापाले यहाँ स्तनपान कक्ष बनाउनको लागि ठाउँ नभएको बताए । उनले यात्रुहरू बस्नको लागि काउन्टरअगाडि कुर्सीहरू राखिएको बताए । ‘हामीकहाँ स्तनपान कक्ष नै भनेर छैन, यात्रु बस्नको लागि केहि कुर्सीहरू छन्,’ उनले भने ।
विमानस्थलमा पनि छैनन् स्तनपान र शिशु हेरचाह कक्ष, स्थापना गर्न निर्देशन
अघिकांश विमानस्थलमा स्तनपान तथा शिशु हेरचाह कक्ष छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै एयरपोर्टमा स्तनपान र शिशु स्याहार कक्ष निर्माण गर्न २८ चैतमा निर्देशन दिएको थियो । मन्त्रालयले २४ घण्टाभित्र शिशु स्याहार कक्ष र स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएपनि अधिकांश एयरपोर्टमा स्थापना नै गरिएको छैन ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरीक विमानस्थलतर्फ नै शिशु स्याहार कक्ष छैन । अन्तर्राष्ट्रियको प्रस्थानभित्र स्तनपान कक्ष भएपनि आगमनतर्फ छैन । मन्त्रालयले एयरपोर्टको सहज स्थानमा स्तनपान कक्ष र शिशु स्याहार कक्ष स्थापना गर्न निर्देशन दिएको छ ।
त्यस्तै, आन्तरीकतर्फ पनि आगमन र प्रस्थान दुवैतर्फ स्तनपान कक्ष छैन । अझ प्रस्थानतर्फ हरेक विमान कम्पनीहरूका आ आफ्नै विभागहरू छन् । यात्रुहरूले घण्टौंसम्म जहाज कुरिरहेका हुन्छन् । तर शिशु र आमाको लागि स्तनपान कक्ष बनाइएको छैन ।