सल्यानमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागचौर नगरपालिका–५, चिलडाँलेनिवासी २४ वर्षीय शंकर बादी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार गएको वैशाख १४ गते राति खाना खाएर सुतेकी २० वर्षीया सरिता बादी भोलिपल्ट बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि माइती पक्षले श्रीमान् शंकर बादीमाथि हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएका थिए।

माइती पक्षले शंकरले पटक-पटक मदिरा सेवन गरी श्रीमतीमाथि कुटपिट तथा मानसिक यातना दिने गरेको आरोप लगाउँदै आएका थिए। पछिल्लोपटक पनि घरेलु विवादकै क्रममा सरिताको हत्या गरिएको उनीहरूको आरोप छ। श्रीमानले आफ्नै घरको भुइँतलामा कर्तव्य ज्यान गरेको भन्दै माइती पक्षले अनुसन्धानको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार घटनामा संलग्न रहेको आरोपमा शंकर बादीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। घटनाको प्रकृति, मृत्युको कारण तथा अन्य तथ्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। शंकर र सरिताले करिब एक वर्षअघि मात्रै विवाह गरेका थिए।

सुझावित समाचार