पश्चिमका राउटे पूर्वको पर्यटन मेलामा पाहुना

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

घुमन्ते जीवनशैली आफ्नै मौलिक संस्कृति भएका पश्चिमका राउटेहरू एक हजार किलोमिटर पूर्व पाहुना बनेर आएका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका ३ मा रहेको नेसेलुङ पर्यटकीय स्थलमा २ जेठदेखि आयोजित महोत्सवमा नेपालकै लोपोन्मुख फिरन्ते जातिमा पर्ने पश्चिमका राउटेहरू  विशेष आकर्षणको रूपमा पाहुना बनेर आएका हुन्।  

 कर्णाली प्रदेशको सुर्खेतबाट आएका २५ जना राउटेहरू नेपालमै उल्टो घर भएको भनेर चर्चित मोरङ मिक्लाजुङमा रहेको नेसेलुङ फनपार्क महोत्सवमा १० जेठसम्म विशेष आकर्षण बनेर पाहुनाको रूपमा बस्नेछन्। महोत्वसमा उनीहरूले आफूले निर्माण गरेका काठका परम्परागत भाँडाकुडाहरू पनि बिक्री गरिरहेका छन्।    

पश्चिम नेपालको कर्णाली प्रदेशतिर मात्रै वनजंगल क्षेत्रमा फिरन्ते बनेर बसोबास गर्दै आएका राउटेहरूलाई हेरेर उनीहरूसँग फोटो खिच्दै कुराकानी गर्न मानिसहरूको भिड लाग्न थालेको छ। राउटेहरी यसरी मेला महोत्वसमा पूर्वमा आएको पहिलोपटक भएकाले पनि उनीहरू सबैको आकर्षण बनिरहेका छन्। 

नेसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार जेठ २ गतेदेखि सुरु भएको मेला १० जेठसम्म सञ्चालन हुनेछ। मेलामा आउनेहरूले विशेष आकर्षणको केन्द्र रहेका राउटे समुदायको मौलिक भाषा संस्कृतिलाई नजिकबाट हेर्न बुझ्न पाउनेछन्। साथै, मेलामा आउनेहरूले राउटेहरूलाई आर्थिक सहयोग गर्न पनि पाउनेछन्। राउटेहरूको बसोवासका लागि उनीहरूको चाहनाअनुसार पार्कक्षेत्रमै पालको टहरा निर्माण गरिएको छ। 

कोशी प्रदेशका पूर्वसांसद कुशल लिम्बूका अनुसार पश्चिमबाट पूर्व आएका लोपोन्मुख राउटेहरूको सहभागिताले नेपालका विभिन्न समुदायबिच संस्कृति आदानप्रदानको वातावरण सिर्जना गरेको बताए। निसेलुङ पर्यटन महोत्सवमा राउटेहरूसँगै स्थानीय लिम्बू समुदायको मौलिक संस्कृति, जीवनशैली र पहिचानलाई पनि प्रस्तुत गरिएको छ।

  मोरङको उत्तर पहाडी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका- ३, निसेलुङ फनपार्क देशकै पहिलो उल्टोघरले गर्दा पर्यटकीय केन्द्रका रूपमा चर्चित छ। निसेलुङ पूर्व–पश्चिम राजमार्गमा पर्ने उर्लाबारीको किसान चोकबाट १५  किलोमिटर उत्तरमा पर्छ।  
राउटेहरूसँगै सुर्खेतबाट आएका संरक्षण सहयोगी लालबहादुर खत्रीका अनुसार लोपोन्मुख राउटेहरूले ८ वर्षमा एक सय २२ स्थानमा बसोवास सारिसकेका छन्। पहिले नुहाउन नमान्ने उनीहरू आजकल नुहाउन, नङ काट्न र सरसफाइमा पनि ध्यान दिन थालेका छन्। बालबालिकाहरूले थोरै लेख्न पढ्न थालेका छन्।  
   
 

सुझावित समाचार