वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२/८३ को १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको जनाएको छ। भन्सार विभागले दिएको दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरिएको हो।
वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२/८३ को साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड संकलन गरेको थियो। यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड, मंसिरमा २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो।
यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ। वैशाखमा रु. २१ अर्ब ७४ करोड राजस्व संकलन गरिएको सूचना अधिकारी विष्टले बताए।
अहिले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन भइरहेकाले राजस्व संकलन सन्तोषजनक रहेको भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। चालू आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ।