जिल्ला प्रशासन कार्यालय उदयपुरले पछिल्लो ६ महिनामा जिल्लाका विभिन्न बजार क्षेत्रका १४७ वटा पसल तथा फर्ममा अनुगमन गरेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षा, बजारमा मूल्य स्थिरता तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले १८ पटक संयुक्त बजार अनुगमन सञ्चालन गरिएको प्रशासनले जनाएको छ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयको नेतृत्वमा गरिएको अनुगमन गाईघाट, कटारी, नेपालटार, बेल्टार, हडिया, सिबाई र रामपुरलगायतका व्यापारिक केन्द्रमा केन्द्रित थियो । बजारमा म्याद गुज्रेका खाद्य वस्तु बिक्री, अखाद्य सामग्रीको कारोबार, कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धिबारे गुनासो बढेपछि निगरानी कडा पारिएको प्रशासनले जनाएको छ।
पाण्डेयका अनुसार उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय वस्तु उपलब्ध गराउने र व्यवसायलाई कानुनी दायराभित्र ल्याउने उद्देश्यले नियमित अनुगमन गरिएको हो। अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएका ७ वटा पसललाई २३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ।
साथै, करिब २ लाख ३८ हजार रुपैयाँबराबरका म्याद गुज्रेका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। विभिन्न समस्या देखिएका ३४ वटा पसल तथा फर्मलाई सचेत गराइएको प्रशासनले जनाएको छ। प्रशासनले आगामी दिनमा पनि बजार अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ।