- डुंगा चलाउने पेसा हराएपछि माझी समुदाय वैकल्पिक कर्ममा लागेका छन्, तर समुदायको पहिचान भने मासिँदै गएको छ
माझी समुदायको पहिचान प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ । विशेषगरी, नदी, जंगल र जमिनसँग माझीको जीवन र संस्कृति अभिन्न रूपमा गाँसिएको छ । परापूर्व कालदेखि माझी समुदाय नदीकिनारमा बसोवास गर्थे । डुंगा तार्ने, माछा मार्ने, जाँड बनाएर आयआर्जन गर्ने गर्थे । सिमलको काठबाट डुंगा बनाउने उनीहरूको विशिष्ट सीप हो ।
माझीहरूको पहिचान पानीसँग जोडिएको छ । माझी र नदीको मामा भाञ्जाको साइनो हुन्छ । त्यसैले नदीसँग माझी अलग हुन सक्दैन । पहिले माझी समुदायको जीवन पूर्ण रूपमा नदीमा आधारित थियो । पुरुषहरूले डुंगा चलाउने, मानिसलाई घाट वारपार गराउने र माछा मार्ने काम गर्थे । महिलाहरूले नदीकिनार र चौतारीमा जाँड बेचेर घरको आयआर्जन गर्थे । यसरी डुंगा, माछा र जाँड उनीहरूको जीवनको मुख्य आधार थिए । यो केवल पेसा मात्र होइन, सामाजिक र सांस्कृतिक जीवनसँग जोडिएको प्रणाली थियो ।
नदीकिनारमा साना, होचा, खरका छाना भएका घर माझी बस्तीको पहिचान हुन्थे । यात्रुहरूले घाटमा आइपुग्दा पुरुषहरूले डुंगा चलाउँथे भने महिलाहरूले चौतारीमा जाँड बेच्थे । यसले उनीहरूलाई सम्मानजनक जीवनयापनको आधार दिएको थियो । तर, समयसँगै यी सबै परम्परागत पेसा क्रमशः हराउँदै गए । पुल निर्माण, सडक विस्तार र आधुनिक यातायातका साधनको विकाससँगै डुंगा चलाउने पेसा लगभग समाप्त भयो । डुंगा चल्ने घाटहरू हराएपछि त्यससँगै जोडिएका अन्य पेसा पनि हराउँदै गए ।
केहीले साना व्यापार, किराना पसल, कुखुरा फार्म वा ठेक्कापट्टाजस्ता काम अपनाएका छन् । अरू समुदायले गर्ने काममा उनीहरू पनि लागेका छन् । यसले जीविकोपार्जन सम्भव बनाएको छ, तर परम्परागत पहिचान भने हराउँदै गएको छ ।
माझी समुदायका लागि खेतीपाती गर्ने जमिन छैन । पहिले माझीहरूले प्रयोग गरेका धेरैजसो जमिन दर्ता थिएन । दर्ता नभएकाले पछि सार्वजनिक वा अन्यको नाममा गएको छ । जसले माझी समुदायको कृषिमा निर्भरता घटाएको छ । माझीहरूमा पनि प्रकृतिलाई संरक्षण गर्दै त्यसको उपयोग गर्ने र संरक्षण गर्ने सन्तुलित अभ्यासको पराम्परा देखिन्छ । तर, नेपालमा अन्धाधुन्ध विकास मोडलले यो सन्तुलनलाई गम्भीर रूपमा भत्काइदिएको छ । माझी समुदायलाई राज्यले विकासका नाममा गरेको हस्तक्षेपले जीवनशैलीमा गम्भीर असर पारेको छ । संविधानले भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसअनुसार काम भएको छैन ।
माछा, ढुंगा, बालुवा र नदीसँग सम्बन्धित सम्पूर्ण ज्ञान माझीहरूको जीवनको हिस्सा हो । तर, अहिले यी सबै स्रोतमा उनीहरूको पहुँच घट्दै गएको छ । पहिले उनीहरूले प्रयोग गर्ने नदीकिनारका ढुंगा, बालुवा र अन्य स्रोत अहिले ठेक्कामार्फत बाहिरका मानिसले प्रयोग गरिरहेका छन् । आफ्नै स्रोत प्रयोग गर्न पनि माझीहरूले कर तिर्नुपर्ने अवस्था आएको छ । यसले उनीहरूको परम्परागत अधिकार खोसिएको छ ।
माझीहरूले पूजा गर्ने कोशीकिनारका स्थल पनि अहिले संकटमा परेका छन् । कतिपय ठाउँमा ती स्थलमा बजार, सार्वजनिक संरचना वा अन्य गतिविधि सञ्चालन गरिएका छन् । यसले धार्मिक र सांस्कृतिक असर पुगिरहेको छ ।
माछा मार्ने पेसा पनि संकटमा पर्यो । डुंगा हराएपछि नदीको माछा पनि हरायो । डुंगा चलाउने पेसा हराएपछि माझी समुदाय वैकल्पिक रोजगारी खोज्न बाध्य भयो । अहिले धेरै माझीहरू वैदेशिक रोजगारी पुगेका छन् । सिमलको रुखबाट डुंगा (लाउ) बनाउने परम्परा यसको एउटा महŒवपूर्ण उदाहरण हो । यो प्रजातिको रुख माझी समुदायले काटेर डुंगा बनाउँथे । यो रुख जंगलमा माझीहरूले संरक्षण पनि गर्थे । प्रयोगसँगै उनीहरूले जोगाउँथे पनि । अहिले यो रुख पाउन मुस्किल छ ।
माछा मार्ने पेसा पनि निकै प्रभावित भएको छ । नदीमा विष हाल्ने, करेन्ट लगाउने, बम प्रयोग गर्नेजस्ता गतिविधिले माछाको संख्या घटाएको छ । साथै, नदीमा डोजर चलाउने, ढुंगा उत्खनन गर्ने र प्रदूषण बढ्नेजस्ता कारणले माछाको वासस्थान नष्ट भएको छ ।
नदीमा सीधै ढल मिसिने, फोहोर फाल्ने र अव्यवस्थित विकासले पानी प्रदूषित भएको छ । यसले माछा मात्र होइन, मानिसको स्वास्थ्यमा पनि असर पारेको छ । माझी समुदायले माछा आफैँ मार्न नपाएर बजारबाट किनेर खानुपर्ने अवस्था आएको छ । माझीहरूको धेरै संस्कार, संस्कृतिमा माछाको प्रयोग हुन्छ । जुन समुदायले पहिले नदीबाटै जीवन चलाउँथ्यो, आज उसैलाई पानीसम्म किनेर खानुपर्ने अवस्था आएको छ ।
डुंगा बनाउने र चलाउने सीप पनि हराउँदै गएको छ । नयाँ पुस्ताले यो सीप सिक्न छाडेका छन् । यसले सांस्कृतिक निरन्तरता नै जोखिममा परेको छ । यद्यपि, माझी समुदायले अझै पनि आफ्ना परम्परा जोगाउने प्रयास गरिरहेको छ । राज्यले चाह्यो भने यी परम्परालाई आधुनिक ढाँचामा संरक्षण गर्न सक्छ ।
उदाहरणका लागि, जाँडलाई ब्रान्डिङ गरेर सुरक्षित रूपमा बजारमा ल्याउन सकिन्छ । यसले माझी समुदायका महिलालाई आयआर्जनको अवसर दिन सक्छ । कतिपय अवस्थामा राज्यले नै हस्तक्षेप गरेर जाँड बनाउन र बेच्न रोक लगायो । यसले हाम्रो जीविकोपार्जनमा ठुलो असर गर्यो । माझी समुदायका महिलाको जाँड बेच्ने चलन हराउँदै गयो । यो समुदायको जाँडसँग बेग्लै संस्कृति छ । त्यसैगरी, जलयातायातमा माझी समुदायलाई प्राथमिकता दिइनुपर्छ । माछा संरक्षणमा पनि माझीको ज्ञान उपयोगी हुन सक्छ । नदी संरक्षण, प्रदूषण नियन्त्रण र अवैध गतिविधि रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्छ ।
जलविद्युत् आयोजना, ड्याम र डाइभर्सन परियोजनाले माझी समुदायलाई थप विस्थापनको जोखिम बढाएको छ । सुनकोशी–मरिन डाइभर्सनलगायत परियोजनाले नदीको स्वरूप परिवर्तनले माझी बस्ती डुबाउने खतरा छ । यस्ता परियोजनाले देशलाई फाइदा प्र्ुयाउन सक्ला । तर, स्थानीय माझी समुदायको जीवनमा धेरै ठुलो असर पर्छ । हाम्रो बस्ती विस्थापित भयो भने भाषा, संस्कृति, परम्परा हराउने खतरा छ ।
राज्यले माझीलाई मुआब्जा दिन्छ होला । तर, मुआब्जा दिएर मात्र समस्या समाधान हुँदैन । किनभने नयाँ ठाउँमा गएपछि समुदाय विखण्डित हुन्छ, जसले सांस्कृतिक अस्तित्व नै हराउँछ । माझी समुदायले विकासको विरोध गरेको होइन । हाम्रो माग विकाससँगै आफ्नो पहिचान, संस्कृति र परम्परागत पेसाको संरक्षण गरियोस् भन्ने हो । हाम्रो जीवनशैली जोगियो भने मात्रै हाम्रो अस्तित्व बाँच्छ । नत्र, हामी नाम मात्रको समुदाय भएर हराउनेछौँ । हाम्रो परम्परागत अधिकारको सम्मान, प्राकृतिक स्रोतमा पहुँच र संस्कृति संरक्षणका लागि ठोस नीति बनाउन आवश्यक छ । यसका लागि राज्यले हस्तक्षेप मात्र होइन, संरक्षण र सहकार्यको भूमिका खेल्नुपर्छ । तब मात्रै माझी समुदायको रैथाने जीवनशैली र पहिचान जोगिन सक्छ ।
समयसँगै यी सबै पेसा क्रमशः हराउँदै गए । पुल र सडक बनेपछि डुंगा तार्ने काम बन्द भयो । डुंगा चल्ने घाटहरू नै हराए । त्यससँगै माझी समुदायको जाँड बेच्ने र माछा मार्ने पेसा पनि संकटमा परे । अहिलेको अवस्था यस्तो भएको छ कि माझी समुदाय आफैँ माछा किनेर खानुपर्ने अवस्थामा पुगेको छ ।
धेरै ठाउँमा माझी बस्ती विस्थापित भए । जस्तै, खाडीचौर क्षेत्रमा जलविद्युत् आयोजना बनेपछि त्यहाँका माझीलाई हटाइयो । त्यससँगै उनीहरूको भाषा, संस्कृति र पेसा पनि हराउँदै गयो । राज्यले हस्तक्षेप गरेर बस्ती हटायो, तर वैकल्पिक जीविकोपार्जनको व्यवस्था भने गरिएन । विकासका नाममा बनेका पुल, जलविद्युत् आयोजना र बाँधहरूले माझीहरूको पुर्ख्यौली पेसा र थातथलो खोस्दै गएको छ । आधुनिकतासँगै यस समुदायको भाषा, संस्कृति र पहिचान संकटमा परेको छ ।
माझी समुदायले आफ्नो पहिचान जोगाउन पटक–पटक आवाज उठाए पनि राज्यबाट पर्याप्त सहयोग पाएको छैन । संविधानले धर्म, भाषा, संस्कृति संरक्षणको कुरा गरे पनि व्यवहारमा त्यसअनुसार काम भएन । नदीसँग जोडिएको उनीहरूको सांस्कृतिक सम्बन्ध पनि कमजोर बन्दै गएको छ । माछा, डुंगा र नदीसँग जोडिएका ज्ञान र सीप माझीहरूको विशेष पहिचान थियो । तर, अहिले यी सबै हराउने अवस्थामा पुगेका छन् ।
माझीले पूजा गर्ने कोशीका स्थानसमेत मासिँदै गएका छन् । कतिपय ठाउँमा ती स्थानमा बजार वा सार्वजनिक संरचना बनाइएका छन् । जसले माझीहरूको धार्मिक अभ्यासमा समेत असर पुर्याएको छ ।
– कुराकानीमा आधारित