बाँदर किन मानव बस्तीमा आउन थाले ?

शनिबार, १२ मंसिर, २०८३
प्रिन्ट संस्करण

बाँदर र मानिसबिच बढ्दो द्वन्द्व अहिले गम्भीर सामाजिक, आर्थिक र वातावरणीय विषय बनेको छ

कुनै समय बाघ, हात्ती, गैँडाजस्ता ठुला वन्यजन्तुलाई मात्र महत्वपूर्ण जनावरका रूपमा हेर्ने प्रचलन थियो । बाँदर, दुम्सी, लोखर्के, मृगजस्ता वन्यजन्तुलाई त्यति महत्व दिइँदैनथ्यो । त्यसैले, ती वन्यजन्तुबाट हुने क्षति र मानव–वन्यजन्तु द्वन्द्वबारे पनि खासै चर्चा हुँदैनथ्यो । पछिल्लो समय सञ्चारमाध्यमको विस्तार र सामाजिक सञ्जालको प्रभावसँगै बाँदरले मानव बस्ती तथा खेतीपातीमा पुर्याउने क्षतिका घटना व्यापक रूपमा सार्वजनिक हुन थालेका छन् । फलस्वरूप बाँदर र मानिसबिच बढ्दो द्वन्द्व अहिले गम्भीर सामाजिक, आर्थिक र वातावरणीय विषय बनेको छ ।

बाँदर किन मानिसको बस्तीमा आउन थाले ? के यो बाँदरको स्वभावमा आएको परिवर्तन हो ? कि मानिसले आफ्नो जीवनशैली र विकासका नाममा गरेको गतिविधिको परिणाम हो ? यसलाई बुझ्न हामीले वन, वन्यजन्तु, कृषि प्रणाली र बदलिँदो सामाजिक संरचनाबिचको सम्बन्धलाई केलाउनुपर्छ ।

गाउँमा मानिस घटे, बाँदर बढे
पहिले गाउँघर खेतीपातीमा निर्भर थियो । खेतबारीको रेखदेख गर्न, बाली जोगाउन र वन्यजन्तुबाट हुने क्षति रोक्न मानिसहरू नियमित रूपमा खटिन्थे । तर, पछिल्लो समय गाउँबाट युवा जनशक्ति पलायन हुने क्रम बढेको छ । रोजगारी, आर्थिक अवसर र राम्रो जीवनको खोजीमा मानिस बिदेसिन थालेका छन् । गाउँमै रहेका मानिस पनि खेतीपातीबाट विमुख हुँदै गएका छन् । यसले गर्दा गाउँमा खेतीपाती गर्ने श्रमशक्तिको अभाव भएको छ । पहिले टाढाटाढासम्म फैलिएका खेतबारी अहिले बाँझिँदै गएका छन् । खेतबारीको नियमित हेरचाह गर्ने मानिसको कमी हुँदा बाँदरलाई बालीमा पस्न र क्षति पुर्याउन सहज भएको छ ।

अर्कोतर्फ, पहिले खेतबारी टाढाटाढा फैलिएका हुन्थे । वनबाट टाढा रहेका खेतमा बाँदरले क्षति पुर्याए पनि त्यसको जानकारी तत्काल नहुन सक्थ्यो । अहिले खेतीयोग्य जमिन घट्दै गएको र खेती गरिने क्षेत्र बस्तीआसपास केन्द्रित हुन थालेको छ । त्यसैले, बाँदरले बालीमा पुर्याएको क्षति मानिसको प्रत्यक्ष नजरमा पर्न थालेको छ । हातहातमा स्मार्टफोन र सामाजिक सञ्जाल भएकाले एउटा घटनाको समाचार क्षणभरमै देशभर फैलिन्छ । यसले पनि बाँदरको समस्या पहिलेभन्दा धेरै देखिन थालेको हो ।

वनमा खानाको अभाव
बाँदरको प्राकृतिक आहार मौसमअनुसार उपलब्ध हुने फलफूल, नयाँ पालुवा, कोमल पात, फूल, कोपिला र अन्य वनस्पतिजन्य सामग्री हुन् । वनमा पर्याप्त आहार उपलब्ध हुँदा बाँदरले आफ्नो प्राकृतिक वासस्थानमै जीवनयापन गर्छ । तर, मानिसले वनजंगलमाथि गरेको हस्तक्षेप, वनक्षेत्रको स्वरूपमा आएको परिवर्तन र प्राकृतिक खाद्यस्रोतको उपलब्धतामा आएको कमीले बाँदरको आहार प्रणालीमा असर पारेको छ ।

पहिले वन फँडानी गरेर खेती गर्ने चलन व्यापक थियो । मानिसले वन क्षेत्रको केही भागमा मकै, गहुँ, धान तथा अन्य खाद्यान्न बाली लगाउँथे । यसरी वनको नजिकै मानिसले खाने अन्नबाली उपलब्ध हुन थालेपछि बाँदरले पनि ती खानेकुराप्रति चासो देखाउन थाल्यो । बाँदर निकै जिज्ञासु र सिक्न सक्ने प्राणी हो । यसले आफ्नो वरिपरिको वातावरणलाई नियाल्छ, नयाँ वस्तुको परीक्षण गर्छ र अरूले गरेको व्यवहारको नक्कल गर्छ । मानिसले दुधिलो मकै खाएको देखेपछि बाँदरले पनि मकै खान मिल्छ कि मिल्दैन भनेर परीक्षण गर्न थाल्यो । विशेषगरी दुधिलो मकै काँचै खाँदा पनि स्वादिलो हुने भएकाले बाँदरका लागि त्यो आकर्षक आहार बन्यो । यसरी सुरुमा परीक्षणका रूपमा खाएको मानव निर्मित खाद्यवस्तु क्रमशः बाँदरको नियमित आहारको हिस्सा बन्न थाल्यो । मानिसले लगाएका बाली र वनमा पाइने प्राकृतिक आहारबिचको सम्बन्ध बदलिँदै गयो ।

मानिसको खानपानले बदलियो बाँदरको आहार
बाँदर मानिसको बस्तीमा आउनु र मानिसको खानेकुरा खान सिक्नुको अर्को महत्वपूर्ण कारण मानिसको प्रत्यक्ष व्यवहार हो । काठमाडौंका स्वयम्भू, पशुपति, थापाथलीलगायत क्षेत्रमा मानिसहरू घुम्न जाँदा बाँदरलाई बिस्कुट, चाउचाउ, फलफूल तथा अन्य तयारी खानेकुरा दिने गर्छन् । कतिपयले रमाइलोका लागि खानेकुरा देखाएर बाँदरलाई जिस्क्याउनेसमेत गर्छन् । यसरी मानिसले नै बाँदरलाई आफ्नो खानपानको संसारसँग परिचित गराएका हुन् ।

बाँदरले मानिसले खाने कुरा ध्यानपूर्वक नियाल्छ । मानिसले चाउचाउ, बिस्कुट, आइसक्रिम, भात वा अन्य खानेकुरा खाएको देखेपछि त्यसलाई पनि परीक्षण गर्न खोज्यो । सुरुमा अपरिचित स्वादका कारण खान नसके पनि पटकपटक चाख्दै जाँदा त्यसको स्वादमा अभ्यस्त हुन थाल्यो । अहिले काठमाडौंका कतिपय ठाउँमा बाँदरले फ्रुटी, कोकाकोलाजस्ता पेयपदार्थसमेत पिउने गरेको देखिन्छ । यो अवस्था एकै दिनमा बनेको होइन । मानिससँगको लामो सम्पर्क, प्रत्यक्ष अवलोकन, नक्कल र परीक्षणबाट बाँदरले आफ्नो आहारसम्बन्धी व्यवहार परिवर्तन गर्दै लगेको हो ।

कुन मानिससँग खानेकुरा पाइन्छ ? कसले प्रतिकार गर्छ ? र, कसबाट सजिलै खानेकुरा खोस्न सकिन्छ ? भन्ने कुरा उसले अनुभवका आधारमा सिक्न सक्छ । यसकारण कतिपय अवस्थामा बाँदरले मानिसको हातबाट खानेकुरा खोस्ने, झोला तान्ने र मानिसलाई लखेट्नेसमेत गर्छ । कतिपय अवस्थामा महिलामाथि बढी आक्रमण हुने गरेको गुनासो पनि सुनिन्छ । यसको कारण महिलाको शारीरिक बनावट वा स्वभावलाई मात्र मान्नु उचित हुँदैन । मानिसले बाँदरप्रति देखाउने प्रतिक्रिया, विगतका अनुभव, प्रतिकार गर्ने शैली र परिस्थितिले पनि यस्तो व्यवहारमा भूमिका खेल्न सक्छन् ।

कसैले डराएर भाग्दा वा खानेकुरा छाडिदिँदा बाँदरले आफ्नो व्यवहार सफल भएको अनुभव गर्न सक्छ । त्यसपछि त्यस्तै परिस्थिति दोहोरिँदा उसले त्यही व्यवहार देखाउन सक्छ । त्यसैले, बाँदरले मानिसलाई आक्रमण गर्ने व्यवहारलाई आक्रामक स्वभावका रूपमा नभई अनुभवबाट विकसित भएको व्यवहारका रूपमा पनि बुझ्नुपर्छ ।

वन व्यवस्थापन र आहारको प्रतिस्पर्धा
बाँदर मानव बस्तीमा आउनुको कारण वन व्यवस्थापनसँग सम्बन्धित छ । पहिले गाउँघरमा पशुपालन र खेतीपातीका लागि वनबाट घाँस, स्याउला, सोत्तर तथा विभिन्न वनस्पति ल्याउने चलन थियो । वनमा पाइने जामुन, काफल, चिलाउनेलगायत वनस्पति मानिस र वन्यजन्तु दुवैका लागि उपयोगी थिए । ती वनस्पति बाँदरका प्राकृतिक आहार पनि हुन् । तर, समयक्रममा वनसम्बन्धी नीति, कानुनी व्यवस्था र व्यवस्थापनका अभ्यासमा परिवर्तन आए । कतिपय स्थानमा स्थानीय समुदायले परम्परागत रूपमा संकलन गर्दै आएका वन पैदावारमा पहुँच सीमित भयो । वनको उपयोग र संरक्षणबिच सन्तुलन कायम गर्न नसक्दा स्थानीय समुदाय र वन्यजन्तु दुवैको जीवनसँग जोडिएका कतिपय परम्परागत अभ्यास प्रभावित भए ।

पहिले मानिसले पशुका लागि संकलन गर्ने स्याउला, घाँस र वनस्पतिमध्ये कतिपय बाँदरका आहार पनि हुन् । वनको खाद्यस्रोत घट्दै जाँदा वन्यजन्तु र मानिसबिच आहारका लागि प्रतिस्पर्धा बढ्न सक्छ । त्यसमाथि वनको नजिकै खेतीपाती हुँदा बाँदरले मानिसले रोपेका बालीलाई वैकल्पिक आहारका रूपमा प्रयोग गर्न थाल्छ । यसरी मकै, धान, गहुँ, तरकारी, अलैँचीलगायतका बालीमा बाँदरको आक्रमण बढ्दै जान थाल्यो । सुरुमा वनको आहारको विकल्पका रूपमा मानिसले लगाएका बाली प्रयोग गरेको बाँदर क्रमशः खेतीपातीमा निर्भर हुन थाल्छ ।

बाँदरले बालीमा पुर्याउने क्षति सामान्य आर्थिक नोक्सानीमा मात्र सीमित छैन । थोरै जमिन भएका किसानका लागि एक सिजनको बाली नष्ट हुनु भनेको वर्षभरिको आम्दानी गुम्नु हो । संखुवासभा, भोजपुर, बैतडी, पाल्पा, सिन्धुपाल्चोकलगायत जिल्लामा बाँदरको उपद्रोका कारण खेतीपाती गर्न नसकिएकाले मानिसहरू बसाइँ सर्न बाध्य भएका छन् । विशेषगरी थोरै जमिनमा खेती गर्ने किसानलाई बाँदरबाट हुने क्षति सहन निकै कठिन हुन्छ । थोरै जमिनमा निर्भर परिवारका लागि सम्पूर्ण बाली नष्ट हुनु जीवनयापनकै संकट हो । त्यसैले बाँदरबाट हुने क्षतिले कृषि उत्पादन घटाउने, गाउँमा बस्ने मानिसको मनोबल कमजोर बनाउने र ग्रामीण बसाइँसराइलाई समेत बढावा दिन्छ ।

वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । बाँदर पनि हाम्रो जैविक विविधताको महत्वपूर्ण हिस्सा हो । तर, वन्यजन्तुको संरक्षणका नाममा किसानले भोगिरहेको क्षतिलाई बेवास्ता गर्नु पनि उचित हुँदैन । पहिले खेतबारीमा आएको बाँदरलाई धपाउने वा मार्ने प्रचलन थियो । अहिले वन्यजन्तु संरक्षणसम्बन्धी कानुनी व्यवस्था कडा भएको छ । बाँदर मार्न वा हानि पुर्याउन नपाइने भएकाले किसानले आफ्नो बाली जोगाउन कठिनाइ भोगिरहेका छन् । संरक्षणको अर्थ वन्यजन्तुलाई मात्र जोगाउनु होइन, मानिस र वन्यजन्तु दुवैको अस्तित्वका लागि आवश्यक वातावरण निर्माण गर्नु हो । किसानको क्षति न्यूनीकरण गर्ने, राहत तथा क्षतिपूर्तिको व्यवस्था प्रभावकारी बनाउने, वन्यजन्तु व्यवस्थापनमा वैज्ञानिक उपाय अपनाउने र स्थानीय समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउने कामसँगै हुनुपर्छ ।

रातो बाँदरबारे वैज्ञानिक अध्ययन आवश्यक
रातो जातको बाँदरले धेरै दु:ख दिन्छ । यो प्रजातिका बाँदर मधेशदेखि पहाडसम्म देखिन्छ । यो प्रजातिका बाँदर सबैभन्दा धेरै चकचके, झगडालु, आक्रमण गर्ने, रिसाहा र बदमासी हुन्छन् । यो बाँदरमा वैज्ञानिक अनुसन्धान गर्न पाए फाइदा हुन्थ्यो । सरकारले यो प्रजातिका बाँदरमा वैज्ञानिक औषधिको अनुसन्धान गर्न छुट दिने हो भने हजारौँको संख्यामा पालेर, सातै प्रदेशमा अनुसन्धान केन्द्र खोलेर समातेर राख्ने, त्यो अनुसन्धान केन्द्रमा औषधि फाप्ने वा नफाप्ने हेरेर अनुसन्धान गर्ने हो भने लाखौँ डलर आम्दानी गर्न सकिन्छ । तर, नेपालमा अनुसन्धानका काम रोकियो । रातो प्रजातिका बाँदरलाई हाम्रा मित्रराष्ट्रलाई उपहार प्रदान गर्न सक्छौँ । हाम्रो देशबाट गैँडा, बाघजस्ता जनावर उपहारका रूपमा दिइन्छ भने बाँदर धेरै संख्यामा छ, यसलाई पठाउन सकिन्छ । दश हजारजति बाँदर समातेर पठाउने हो भने बाँदरले दु:ख दियो भन्ने हल्ला बन्द हुन्छ । तेस्रो, हामी अझै पनि परम्परागत खेती गर्दै छौँ । अहिले मकैको मौसम सकिएको छ । मकै भित्र्याएपछि बाँदरको कुरा कम हुन्छ । किनभने, सबैभन्दा धेरै मकैमा आक्रमण गर्छ । मकैको ठाउँमा अरू खाद्यान्न बाली लगाएर सरकारले मकैचाहिँ सहकारीमार्फत जनतालाई उपलब्ध गराउने हो भने पनि बाँदरको समस्या हल हुन्छ । यी कुरालाई एकैपटक लागू गरियो भने बाँदरको समस्यालाई निमिट्यान्न पार्न सक्छौँं । 

(कुराकानीमा आधारित)

सुझावित समाचार