- स्वस्थ दाँतले राम्रो मुस्कान मात्रै होइन, समग्र स्वास्थ्यलाई पनि सुरक्षित राख्न सहयोग गर्छ
दाँतले मानिसको सौन्दर्य र आत्मविश्वास दुवैलाई प्रभाव पार्छ । दाँतले नै मानिसको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसका लागि दाँतको स्याहार गर्ने कुरामा हामी सजग हुनैपर्छ । मुखबाट दुर्गन्ध आउने, दाँत पहेँलो हुने, गिँजा सुन्निने वा दाँत सड्ने समस्या प्रायः दाँतको उचित हेरचाह नगर्दा देखिन्छ । त्यसैले दाँत र मुखको नियमित सरसफाइ गर्नु अत्यन्त आवश्यक हुन्छ । कम्तीमा ६ महिनामा एकपटक चिकित्सकलाई देखाउँदा राम्रो हुन्छ ।
दाँत सफा नराख्दा मुखमा मात्र होइन, शरीरका अन्य भागमा समेत स्वास्थ्य समस्या देखिन सक्छ । मुखमा रहेका किटाणु बढ्दै जाँदा संक्रमण फैलिन सक्ने भएकाले समयमै दाँतको जाँच र उपचार गराउनु राम्रो मानिन्छ । धेरैजसो मानिस दाँत दुखेपछि मात्र अस्पताल पुग्ने गरेको पाइन्छ । तर, नियमित परीक्षण गराउँदा समस्या सुरु हुनुअघि नै रोकथाम गर्न सकिन्छ ।
दाँतमा खाना अड्किएपछि कीटाणुले त्यसलाई विघटन गर्दा अम्ल उत्पन्न हुन्छ, जसले दाँतको बाहिरी तह बिस्तारै कमजोर बनाउँछ । यही कारणले दाँतमा किरा लाग्ने वा सड्ने समस्या हुन्छ । यसबाट बच्न खाना खाएपछि कुल्ला गर्ने, दिनमा कम्तीमा दुईपटक ब्रस गर्ने र आवश्यकताअनुसार फ्लस प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।
कलरफुड धेरै मात्रामा खानुहुँदैन । सकेसम्म नखाँदा नै राम्रो हुन्छ । ब्रसिङ गर्ने तरिका धेरै मान्छेलाई आउँदैन । सबैले दाँतको फोहोर सफा गर्ने भनेर कडा तरिकाले ब्रस गरेको पाइन्छ । त्यो आफैँमा गलत हो । एउटै दाँतको एरियामा १०–१५ मिनेट ब्रस गरेको पनि देखिन्छ । ब्रस तीन मिनेट गरे पुग्छ । ब्रस गर्दा कडा ब्रस प्रयोग गर्नु हुँदैन । नरम ब्रसको प्रयोग गर्नुपर्छ । हार्ड ब्रस प्रयोग गर्दा दाँतको फोहोर सबै आउँछ भन्ने बुझाइ छ । तर, यो मिथ मात्रै हो । त्यसले झन् दाँतमा खिया लाग्छ । ब्रसिङले मात्रै दाँतको फोहोर जान्छ भन्ने हुँदैन । दाँतको बिचमा धेरै खानेकुरा अड्किएको हुन्छ । त्यसका लागि ब्रससँगै फ्लासिङ टेक्निकबाट फोहोर निकाल्नुपर्छ ।
हामी बिहान–बेलुका ब्रस गर्छौँ । खाना खाएको हरेक समय ब्रस गर्न सम्भव नहुन सक्छ । खाएको वेलामा पाँच मिनेट समय दिएर मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । यसो गर्दा दाँत सफा हुन्छ ।
मुख गन्हाउने समस्या धेरै मानिसमा देखिने सामान्य, तर असहज अवस्था हो । यसले सामाजिक सम्बन्ध र आत्मविश्वासमा असर पार्न सक्छ । मुखको सरसफाइ राम्रो नभएमा, पानी कम पिउँदा, दाँतमा किरा लाग्दा, गिँजाको संक्रमण हुँदा वा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गदा मुखबाट दुर्गन्ध आउन सक्छ । यस समस्याबाट बच्न नियमित रूपमा दाँत माझ्ने, जिब्रो सफा गर्ने, पर्याप्त पानी पिउने र खाना खाएपछि मुख कुल्ला गर्ने बानी आवश्यक हुन्छ । धेरै गुलियो खानेकुरा, अत्यधिक कफी तथा धूम्रपानबाट टाढा रहनुपर्छ । यदि लामो समयसम्म मुख गन्हाउने समस्या रहिरह्यो भने दन्त चिकित्सकसँग परामर्श लिनुपर्छ, किनकि कहिलेकाहीँ यो अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ । स्वस्थ दाँतले राम्रो मुस्कान मात्रै होइन, समग्र स्वास्थ्यलाई पनि सुरक्षित राख्न सहयोग गर्छ ।
मुख गन्हाउने समस्याले व्यक्तिको व्यक्तित्वमा नकारात्मक प्रभाव पार्छ । यस्तो अवस्थामा मुखबाट दुर्गन्ध आउँछ, जसले स्वास्थ्यमा समस्या भएको संकेत दिन्छ । लगातार मुख गन्हाउने समस्या मानसिक तनाव, आत्मविश्वासमा कमी, र कहिलेकाहीँ डिप्रेसनको कारण पनि हुन सक्छ । आफ्नै सास आफैँलाई गन्हाएको थाहा नहुँदा यो समस्या बुझ्न कठिन हुन्छ, त्यसैले दन्त चिकित्सकसँग नियमित जाँच गराउनु आवश्यक छ । लामो समयसम्म मुख गन्हाउने समस्या रहँदा अरु समस्या पनि हुन सक्छ ।