ऐतिहासिक पञ्चदेवल पुग्यो सुदूरपश्चिम चिनाउने अभियानको टोली

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानको टोली अछामको पञ्चदेवल विनायक नगपालिकास्थित ऐतिहासिक पञ्चदेवल पुगेको छ। विक्रम संवत् १३३७ मा तत्कालीन राजा अक्षय मल्लले निर्माण गरेको पाँचवटा देवल र यसमा लेखिएको शिलालेख नेपालकै पुरानो शिलालेखमध्ये पर्छ।

टोलीको नेतृत्व गरेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले ऐतिहासिक स्थल पञ्चदेवलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले टोली यहाँ आएको बताए । यसको शिलालेखमा सामाजिक शान्ति एकता र भ्रातृत्वका लागि देवल निर्माण गरिएको लेखिएको स्थानीय भरत अधिकारीले बताए। पाँचवटा देवलमध्ये एउटा आधा भत्किएको अवस्थामा छ। नेपाली भाषाको सबैभन्दा पुरानो दैलेखको दुल्लु शिलालेखपछि पुरानोमध्ये यो शिलालेख पनि रहेको स्थानीय वयोवृद्व हरिभक्त बजगाईंले बताए।

धनगढी उपमहानगरले हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अभियान सुरु गरेको हो। अभियानअन्तर्गत धनगढीका जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायतको टोलीले हालै यहाँको हिमाली पदयात्राको प्रमुख पर्यटकीय गन्तव्य अपि हिमाल पुगेको थियो। टोली अहिले पञ्चदेवल, रामारोशन र साइपाल बेसक्याम्पको यात्रामा छ । सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धनगढी उपमहानगरले अभियान सुरु गरेको नगर प्रमुख हमालले बताए।

सुझावित समाचार