बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ। बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवार र पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।
उक्त भवनबाट घरेलु हिंसा, लैंगिक हिंसा, बालअधिकार उल्लंघन तथा ज्येष्ठ नागरिकसम्बन्धी मुद्दाका पीडितलाई सहज, गोप्य र प्रभावकारी सेवा उपलब्ध गराइने अपेक्षा गरिएको छ। उद्घाटनपछि महानिरीक्षक कार्कीले भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए। कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बेलायत सरकारले विभिन्न परियोजनामार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार निर्माण, तालिम तथा समुदायसँगको सहकार्य विस्तारमा महत्त्वपूर्ण सहयोग गर्दै आएको बताए। नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबिचको विश्वासको प्रतीक भएको उल्लेख गर्दै उनले यसले नागरिकमैत्री सेवा प्रवाहलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा मधेश प्रदेश प्रहरीको सक्रियताले उल्लेख्य उपलब्धि हासिल भएको बताए। थपलियाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने सवालमा शून्य सहनशीलता अपनाएका र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए।
विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (युएनओपिएस)मार्फत कार्यान्वयन गरिएको उक्त भवन तीन करोड ५१ लाख ४ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।