स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा नेपाल र भारतबिच सदियौँदेखि रहिआएको ऐतिहासिक सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि गहन विचार विमर्श भएको मन्त्रालयले जनाएको छ।
राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति कृतज्ञता प्रकट गरेकी छिन्।
भेटवार्ताका क्रममा नेपालका राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप मजबुत तथा प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।