घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध मुद्दा दायर भएको छ। धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कमला–ढल्केबर–बागमती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारीसाधनहरू रोक्ने तथा फिल्डमा माटो–ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग उनले ४० हजार घुस लिएका थिए। घुससहित उनलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।