उद्धारका नाममा पर्यटकको बिमा ठगी गर्ने गिरोहका मुख्य प्रतिवादी डा. गीर्वाणराज तिमल्सिनामाथि थप छानबिन हुने भएको छ । उनीमाथि थप छानबिन गरी कारबाही गर्न प्रहरीले नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्ने तयारी गरेको छ । चिकित्सकको आचरणविपरीतका गतिविधि गरेको देखिएपछि उनीमाथि थप कारबाहीका लागि काउन्सिललाई पत्राचार गर्न लागिएको सिआइबीका एक अधिकारीले बताए ।
लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका सञ्चालकसमेत रहेका तिमल्सिनालाई यसअघि सिआइबीले पक्राउ गरेर मुद्दा चलाएकोमा उनी धरौटीमा छुटिसकेका छन् । चिकित्सकको हस्ताक्षरसमेत किर्ते गरी नक्कली रिपोर्ट बनाएर उनले बिमा रकम असुल्ने गरेको छानबिन खुलेको थियो । उनीलगायत सो प्रकरणमा संलग्न ३३ जनाको सिआइबीले सम्पत्ति पनि छानबिन थालिसकेको छ ।