राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव बैठकले अनुमोदन गरेको हो । संयुक्त बैठक सम्पन्न भएपछि बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रमको प्रति टेबुल गरेका थिए ।

सभामुख अर्यालका अनुसार आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री शाहले वैशाख ३० गते जवाफ दिने कार्यतालिका तय गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सहभागी हुन चाहने सांसदहरूले अर्को बैठकअघि नाम उपलब्ध गराउनुपर्नेछ । यस्तै, विरोधको सूचना दर्ता गर्ने सदस्यहरूले वैशाख २९ गते दिउँसो २ बजेसम्म सूचना बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

बैठकमा नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले संयुक्त बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको भन्दै संसदीय मर्यादाप्रति ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक वैशाख २९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ । संघीय संसद्को बजेट अधिवेशन आजबाट औपचारिक रूपमा सुरु भएको हो।

सुझावित समाचार