माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज साँझसम्म प्रकाशन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले ५ बजे बोर्ड बैठक बसेर परीक्षा प्रकाशनको निर्णय गर्न लागेको हो।
बैठकपछि डेमो गरिनेछ। डेमो प्रस्तुतिमा समस्या नदेखिए साँझ ७ बजे नतिजा प्रकाशन हुने बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले जानकारी दिए। ‘अब ५ बजे बैठक बस्छौँ, त्यसपछि डेमो प्रदर्शन हुन्छ, प्राविधिक समस्या नआएमा ७ बजेसम्म पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्छौँ,’ उनले भने।
एसइई सकिएपछि ५ वैशाखमा ७७ वटै जिल्लाका उत्तरपुस्तिका र अंक सानोठिमीस्थित परीक्षा केन्द्रमा ल्याइएको थियो। त्यसपछि प्राविधिक सत्रको कार्य सुरु भएको थियो। १९ देखि २९ चैतसम्म भएको एसइईमा नियमिततर्फका चार लाख ४६ हजार ५७६ र ग्रेड वृद्धितर्फका ६३ हजार ४८५ विद्यार्थी सहभागी थिए। दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षामा भाग लिएका थिए।
विगतका वर्षहरूमा एसइईको नतिजा सार्वजनिक गर्न तीन महिना समय लाग्ने गरेको थियो। यसपटक भने एसइई निर्देशिका नै परिमार्जन गरेर सरकारले एक महिनामै प्रकाशन गर्न लागेको हो।