नियमित कप्तान अरुणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ । अनुभवी कप्तान अरुणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी ८ जेठबाट राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा छन् ।
भट्टले अनुभव र सिनियरका आधारमा कप्तान चयन हुने बताएका छन् । ‘एक महिनादेखि तयारी चलिरहेको छ । अहिले नै कप्तान घोषणा गर्ने अवस्था छैन,’ भट्टले नयाँ पत्रिकासँग भने, ‘केही दिनमै काभा खेल्ने टोली घोषणा हुन्छ । त्यसपछि नयाँ कप्तानको घोषणा गरिनेछ ।’
सन् २०१९ बाट अरुणाले नेपाली टिमको कप्तानी गर्दै आएकी थिइन् । यसअघि नेपाली टोलीको कप्तानी विनिता बुढाथोकीले गरेकी थिइन् । अरुणाको नेतृत्वमा नेपालले २०१९ र २०२१ मा काभा च्याम्पियनसिप जितिसकेको छ । २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण पदक भिडन्तमा नेपाल भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो ।
महिलातर्फ नेपालले तीनवटा महत्वपूर्ण उपाधि जित्दा भट्ट नै मुख्य प्रशिक्षक थिए । उनी अनुभवी खेलाडीलाई कप्तानको जिम्मेवारी दिने मनसायमा छन् । अहिले प्रशिक्षणमा रहेका १६ मध्ये स्पाइकरद्वय निरुता ठगुन्ना, उषा भण्डारी र लिबेरो सलिना श्रेष्ठ अनुभवी छन् । उनीहरूले विभिन्न फ्रेन्चाइज टिमबाट समेत कप्तानीको अनुभव बटुलेका छन् । दुईपटक फ्रेन्चाइज लिग जितिसकेकी युवा ब्लकर सुमित्रा रेग्मीको पनि सम्भावना छ ।
यी चारमध्ये एकले महिला राष्ट्रिय टोलीको नेतृत्वको जिम्मेवारी लिनेछन् । चारै खेलाडीको राम्रो र नराम्रो पक्ष केलाउँदै अन्तिममा कप्तान घोषणा गर्ने तयारीमा प्रशिक्षक भट्ट छन् । त्यसका लागि उनले संघसँग पनि समन्वय गरिरहेका छन् । ‘सबै खेलाडी कप्तान बन्नलायक छन् । अब अन्तिम निर्णय प्रशिक्षकको हातमा छ,’ संघका एक पदाधिकारी भन्छन् । त्यसअघि प्रशिक्षक भट्टलाई १६ बाट १२ खेलाडी छनोट गर्न नै चुनौती रहेको छ ।
नयाँ खेलाडीलाई मौका
पछिल्लोपटक महिला टोलीका अनुभवी खेलाडी अरुणासँगै सरस्वती चौधरी, प्रतिभा माली, साफिया पुन, कविता भट्ट, पुनम चन्दजस्ता चर्चित खेलाडी अस्ट्रेलिया पुगेका छन् । सन् २०१९ मा पनि प्रशिक्षक भट्टले विनितासहित ६ खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई अवसर दिएका थिए । त्यसवेला उनको यो निर्णयको धेरै आलोचना भएको थियो । यसपटक प्रशिक्षक भट्ट पुरानै रणनीतिअनुसार अगाडि बढेका छन् । ‘मेरो रणनीति भनेकै नयाँ खेलाडीलाई मौका र उनीहरूबाटै नतिजा निकाल्ने हो,’ उनले भने । यसपटक पनि अनुभवी खेलाडीमा निरुता, उषा र सलिना तथा सुमित्रासँगै कामना विष्ट, आरती सुवेदी, प्रगति नाथ र रिमा कुँवर छन् ।
उनीहरूसँग ठुला प्रतियोगिता खेलेको अनुभव छ । त्यस्तै, उमेर समूहमा खेलिसकेका मीना सुनार, सलिना बुढामगर, एलिसा मानन्धर, जोसना महतो, वसन्ती साउद, सुनिता क्षेत्रीसँगै शान्तिकला तामाङ र लक्ष्मी चन्दले अन्तिम चरणको प्रशिक्षण गरिरहेका छन् । अन्तिम छनोटमा चार खेलाडी बाहिर हुनेछन् ।
काभाको तयारी पूरा
नेपाल भलिबल संघ (एनभिए)ले ८ जेठदेखि हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संघका अध्यक्ष जितेन्द्र चन्दले आइतबार प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराए । १५ जेठसम्म चल्ने प्रतियोगितामा काभाका आठ देशका राष्ट्रिय टिमको सहभागिता रहनेछ । नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकिस्तानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूह ‘ए’मा भारत, कीर्गिस्तान र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।
यसैबिच सहआयोजक एनभिएले प्रतियोगिताको ट्रफी अनावरणसमेत गरेको छ । संघका अध्यक्ष चन्दले ट्रफी घरमै राख्न खेलाडीलाई हौसला प्रदान गर्दै शुभकामना दिएका छन् । नेपालले पहिलो खेल नै भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को अन्तर्राष्ट्रिय वरीयतामा समेत यो प्रतियोगिताको नतिजाले प्रभाव पार्नेछ । जसकारण घरेलु मैदानमा हुने प्रतियोगितामा राम्रो नतिजा ल्याउन सके नेपालको महिला विश्व वरीयतामा सुधार हुने अध्यक्ष चन्दले बताए । प्रतियोगितामा राम्रो नतिजा निकाल्ने सके वरियतामा सुधार हुनेछ । प्रतियोगिताको बजेट दुई करोड ५० लाख रुपैयाँको रहेको छ । चन्दका अनुसार प्रतियोगिताका लागि नेपाल सरकारले एक करोड र काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरिसकेका छन्
खेल्न तयार छौँ
जगदीश भट्ट, प्रशिक्षक, नेपाल
विभिन्न घरेलु प्रतियोगिताको प्रदर्शनका आधारमा ३२ दिन खेलाडीलाई प्रशिक्षण गराएका छौँ । क्याम्प र अघिल्ला प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा चार खेलाडीलाई टिमबाट हटाएका छौँ । विगतका खेलाडी (सिनियर) चार–पाँचजना छन् । उनीहरू शारीरिक र मानसिक रूपमा तयार छन् । प्राविधिक रूपमा पनि खेलाडी बलिया छन् । विगतमा भन्दा उत्कृष्ट प्रदर्शन गर्छौँ र त्यही आधारमा उपाधि घरमै राख्छौँ ।