छोटी भन्सार पुनर्स्थापनाको माग राखेर स्थानीय आन्दोलित

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण
छोटी भन्सार पुनर्स्थापनाको माग राखेर स्थानीय आन्दोलित

बरियारपट्टी छोटी भन्सार खुलाउन दबाबका लागि धर्ना दिँदै स्थानीय ।

राजस्व संकलनलाई व्यवस्थित बनाई प्रशासनिक खर्च घटाउने उद्देश्यले मुलुकभरका विभिन्न १८ वटा छोटी भन्सार खारेज गर्ने सरकारको निर्णयले सिराहाको बरियारपट्टी गाउँपालिका– ३ स्थित छोटी भन्सार कार्यालयसमेत बन्द भएपछि स्थानीयले पुनर्स्थापनाको माग राखेर आन्दोलन थालेका छन् ।

करिब पाँच दशकदेखि सञ्चालन हुँदै आएको उक्त छोटी भन्सार प्रशासनिक खर्च घटाउने नाममा बन्द गरिँदा सो क्षेत्रको बजार नै बन्द भएर स्थानीयले रोजगारी गुमाएको र आर्थिक गतिविधिसमेत ठप्प भएको छ । छोटी भन्सार खुलाउन धर्ना दिँदै आएका स्थानीयले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई पाँचबुँदे ज्ञापनपत्रसहित कार्यालय पुनर्स्थापनाको माग गरेका हुन् । ‘छोटी भन्सार बन्द गर्ने निर्णयले स्थानीय व्यापार–व्यवसाय, राजस्व संकलन तथा सीमा क्षेत्रको आर्थिक गतिविधिमा नकारात्मक असर परेको छ,’ ज्ञापनपत्रमा भनिएको छ । 

छोटी भन्सार सञ्चालनले दैनिक उपभोग्य वस्तुहरूको आयात–निर्यात सहज हुनुका साथै स्थानीय नागरिकलाई रोजगारी, व्यवसाय प्रवर्द्धन तथा सरकारी राजस्व वृद्धि हुन सहयोग पुगेको ज्ञापनपत्रमा उल्लेख छ । तर, कार्यालय बन्द हुँदा अवैध कारोबार बढ्ने, राजस्व चुहावट हुने तथा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था सिर्जना भएकाले पुनर्स्थापनाका लागि आग्रह गर्नुपरेको ज्ञापनपत्रमा जनाइएको छ ।

ज्ञापनपत्रमा स्थानीय व्यापार तथा आर्थिक गतिविधि वृद्धि गर्न, राजस्व संकलन प्रभावकारी बनाउन, अवैध आयात–निर्यात नियन्त्रण गर्न, स्थानीय नागरिकलाई रोजगारी र सेवा–सुविधा उपलब्ध गराउन, सीमा क्षेत्रको सुरक्षा तथा व्यवस्थापनलाई सुदृढ बनाउनका लागि छोटी भन्सार पुनर्स्थापनाको माग गरिएको छ । 

भन्सार खुलाउन संघीय सांसदको समेत माग
सिराहा २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव यादवले पनि बरियारपट्टी छोटी भन्सार खुलाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण गराइसकेका छन् । अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत बन्द गरिएका छोटी भन्सारका बारेमा सम्बोधन गर्ने आश्वासन दिएको उनले बताए । ‘बरियारपट्टीको छोटी भन्सारकै कारण त्यहाँ ठुलो बजार विस्तार भइसकेको छ ।

भन्सार कार्यालय बन्द हुँदा तत्कालै बजार ठप्प भएर ठुलो संख्यामा रोजगारी गुमेको छ भने त्यस क्षेत्रको आर्थिक चलायमान शून्य भएको छ,’ उनले भने, ‘जिल्लाको बीचभागमा समेत रहेकाले उक्त छोटी भन्सार सञ्चालन नगर्दा राजस्व चुहावट भई सरकारलाई नै नोक्सानी हुन्छ । त्यसैले, तत्कालै उक्त नाका सञ्चालनको निर्णय हुनुपर्छ भनेर  मैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छु ।’उनले आइतबार दिउँसो रास्वपा सभापति रवि लामिछानेलाई समेत भेटेर स्थानीयले भोग्नुपरेको समस्याबारे अवगत गराएको जानकारी दिए ।

सुझावित समाचार